काठमाडौं। अमेरिकी डलरको मूल्य पुनः उकालो लागेको छ। नेपाल राष्ट्र बैंकले शनिबार एक डलरबराबर १४३.४४ रुपैयाँ बिक्रीदर तोकेको छ। अमेरिकी डलरको यो मूल्य हालसम्मकै उच्च हो। डलरसँग नेपाली रुपैयाँ निरन्तर कमजोर बन्दै गएको छ।
लामो समयदेखि नेपाली रुपैयाँ (नेरु) को भारतीय रुपैयाँ (भारु) सँग स्थिर विनिमय दर (फिक्सड पेग) छ। भारुसँग स्थिर विनियमदर कायम भएकाले डलरसँग नेरु कमजोर हुन गएको हो। डलरसँग नेरु कमजोर हुनमा नेपालको नभई भारतको अर्थतन्त्रको योगदान रहेको छ।
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ। एक डलरबराबर ८९.३५ भारु पुगेको छ।
गत जेठसम्म १३६ रुपैयाँ हारहारीमा रहेको डलर इरान र इजरायबीचको युद्धले बलियो बनेको थियो। राष्ट्रपति डोनाल्ड ट्रम्पले लिएको व्यापार नीतिका कारण गत माघमा डलरको भाउ बढेर १४१ रुपैयाँसम्म पुगेको थियो।
२०८२ असार मसान्तको तुलनामा असोज मसान्तमा डलरसँग नेपाली रुपैयाँ २.३ प्रतिशत अवमूल्यन भएको छ। अघिल्लो वर्षको सोही अवधिमा नेपाली रुपैयाँ ०.६ प्रतिशत अवमूल्यन भएको थियो।
विश्वमा ८१ प्रतिशतभन्दा बढी व्यापार डलरमा हुने गरेको छ। अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको तलमाथि हुने गरेको छ।
डलर महँगो हुँदा विदेशमा काम गर्ने नेपालीले पठाउने रेमिट्यान्स आप्रवाह वृद्धि हुन्छ। यसबेला रेमिट्यान्स पठाउनेले नेपालमा बढी मूल्य पाउने छन्।
यस्तै, पर्यटन क्षेत्रबाट डलर आउने भएकाले नेपाललाई फाइदा हुनेछ। विदेशी वस्तु निर्यात गर्ने उद्योगलाई यस्तो बेला फाइदा हुन्छ। डलर बढेका बेला निर्यात बढाए उद्योगीले बढी नाफा कमाउने अवसर पाउछन्।
यद्यपि, डलर महँगो हुँदा नेपाललाई फाइदाभन्दा बेफाइदा बढी हुने गरेको छ। डलर महँगो भएपछि वस्तुको बजार भाउ बढ्छ। आयात गरिने वस्तु महँगो हुन जान्छ।
यस्तै, विदेशी कच्चापदार्थमा निर्भर उद्योगको उत्पादन लागत बढ्छ र भाउ पनि बढ्छ।
अमेरिकी डलर बढ्दा सरकारलाई विदेशी ऋण र सावाँ भुक्तानीमा थप भार पर्छ। नेपालले तिर्नुपर्ने दायित्व बढ्दै गएको छ। यता नेपाल विकासशील मुलुकमा स्तरोन्नती हुने र नेपालीको आम्दानी बढेको भन्दै विकास साझेदार विश्व बैंकले ब्याज दोब्बर बढाएको छ।
आगामी दिनमा वैदेशिक ऋणको दायित्व थपिने भएकोे छ। यस्तै जापान अन्तर्राष्ट्रिय सहयोग नियोग –जाइका) ले पनि ब्याजर दोब्बर बढाएर दुई प्रतिशत पुर्याउने भएको छ।
आगामी आर्थिक वर्षमा सरकारले तीन खर्ब ७५ अर्ब रुपैयाँ ऋण तिर्ने लक्ष्य लिएको छ। गत वर्ष सरकारले तीन खर्ब २० अर्ब रुपैयाँ ऋण तिरेको छ।
विदेशी कम्पनीले लाभांश फिर्ता लैजाँदा बढी दिनुपर्छ। लाभांश लैजानेलाई फाइदा हुनेछ। विदेशमा अध्ययन गर्न, औषधोपचार, पर्यटक भएर विदेश भ्रमण जानेलाई डलरको भाउ बढेपछि असर पर्ने गरेको छ।
अहिले डलरका कारण विश्व बजारमा सुन र खाद्यान्नलगायत अन्य दैनिक उपभोग्य वस्तुको भाउको ग्राफ उकालो लागेको छ। यस्तै स्थानीय मुद्राहरु कमजोर बनेका छन्।
राष्ट्र बैंकका अनुसार युरो एकको बिक्रीदर १६५.८० पैसा, पाउण्ड स्ट्रलिङ एकको १८९ .४६, अष्ट्रेलियन डलर बिक्रीदर ९३.५९ रुपैयाँ पुगेको छ।


