काठमाडौं- सहिद स्मारक ए डिभिजन लिगको अन्तिम खेलमा उपाधि विजेता चर्च बोइजसँग हार व्यहोरेसँगै खुमलटार क्लब बी डिभिजन लिगमा घटुवा भएको छ। अन्तिम खेलको नतिजामा २–० ले चर्चसँग पराजित भएपछि खुमलटार ए डिभिजनबाट घटुवा भएर बी डिभिजनमा पुगेको हो।
लिगको अंकतालिको अन्तिममा रहँदै खुमलटार घटुवामा परेको हो। अघिल्लो सिजन मात्र बी डिभिजन लिगको उपविजेता भएर ए डिभिजनमा उक्लिएको खुमलटार लामो समय त्यहाँ बस्न नपाई पुरानै अवस्थामा फर्किएको हो। लिगमा चर्च बोइज विजेता बनेको थियो। त्यसको एक वर्षपछि चर्च बोइजले माथिल्लो डिभिजनको पनि उपाधि उचाल्दा खुमलटार भने फेरि पुरानै ठाउँमा फर्किएको छ। ए डिभिजनमा उक्लिएको एक वर्षमा नै उक्त डिभिजनको लिग पनि जितेर चर्चले इतिहास बनाएको छ।
शुक्रबारको अन्तिम खेलमा खुमलटारलाई हराउन मनोज राई र जोशेफ बेम्फले गोल गरे। यी दुवै गोल पहिलो हाफमा भएका थिए।
खेलको पहिलो हाफमा खुमलटारका चार जनाले रातो कार्डको सजाय पाएका थिए। क्लब व्यवस्थापक अन्जन राना क्षेत्रीलगायत सबै खेलाडी र अफिसिलयल मैदा प्रवेश गरेपछि उनीहरुमध्ये पहिले मैदान प्रवेश गरेर रेफ्रीसँग झगडा गर्ने चार जनाले रातो कार्ड पाएका थिए।
खुमलटारका खेलाडी नै रेफ्रीमाथि जाइलागेपछि रेफ्रीले सुरक्षा माग गर्दै खेललाई आधा घण्टा रोकेका थिए। त्यसपछि खेलाईएको पहिलो हाफको अन्तिम दुई मिनेटमा नै जोशेफले गोल गरेका थिए।
खेलको दोस्रो हाफ उस्तै विवादित बन्यो। ४८ मिनेटमा चर्च बोइजका डिफेन्डर मेसुकेलाई बल गुडाइरहेको समयमा लडाएपछि खुमलटारले फ्रि किक पायो। फ्री-किकमा खुमलटारले गोल गर्यो। तर त्यो गोलले मान्यता पाएन। बरु त्यहाँ नै गोकिपर प्रिसो कुटपिटमा उत्रिए। खेलमा फेरि झगडाको माहोल सुरु भयो।
केही समयको विवादपछि रेफ्री प्रज्वलले प्रिसोलाई रेड कार्ड देखाए। उनी मैदान बाहिरएसँगै प्रशिक्षक बलगोपाल महर्जनले आशिष चौधरीलाई बेञ्चमा फर्काउँदै अर्का गोलकिपरलाई मैदानमा पठाएका थिए।
त्यसपछि मैदानमा न विवाद भयो न गोल। अन्ततः चर्च बोइजले चाहेजस्तै जित निकाल्यो र पहिलो पटक उपाधि जितेको खुसियालीको उत्सव बनायो। सबै खेलाडीले प्रशिक्षक महर्जनसँग अंकमाल गरे। उनीहरुले एक अर्कासँग खुसी साटे। उनीहरुले लिगको ट्रफीसमे आजै एन्फामा उचालेका छन्।
यता लिगमा २७ अंक बटुलेको खुमलटार बी डिभिजनमा घटुवा भएको छ भने चर्चले भने ४८ अंक बनाएर लिगको उपाधि चुमेको छ।


