महोत्तरी। बर्दिबास–६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा आयोजना सुरु भएको छ।
टेरा सोल इनर्जीले एक अर्ब २० करोड रुपैयाँ लागतमा आयोजनाको काम बिहीबार सुरु गरेको हो। आगामी छ महिनाभित्र विद्युत् उत्पादन गर्ने आयोजनाको लक्ष्य छ। बर्दिबास–६ र ७ का ८० भन्दा बढी किसानको ४० बिघा जग्गा ३० वर्षको भोगाधिकारसहितको भाडामा लिएर निर्माण कम्पनीले काम थालेको छ।
छ महिनाभित्र २० मेगावाट विद्युत् उत्पादन गरी नेपाल विद्युत् प्राधिकरण ढल्केबर ग्रिड महाशाखालाई हस्तान्तरण गरिने लक्षसाथ काम थालिएको निर्माण कम्पनीका कार्यकारी निर्देशक पूजा चन्दले बताए। आयोजनाको निर्माणकार्यको शुभारम्भ मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले एक समारोहबीच गरेका छन्।
थालिएको सौर्य ऊर्जा जडानको काम निर्धारित समयमै सम्पन्न गरेर विद्युत् उत्पादन हुने निर्माण कम्पनीले जनाएको छ। आयोजनअन्तर्गत चारवटा ट्रान्सफर्मर, ६८ वटा इनभटर र तीन लाख ३३ हजार सोलर प्यानल लाग्ने कम्पनीले जनाएको छ।
आयोजनाको शिलान्यास गर्दै मुख्यमन्त्री यादवले मुलुकको परिप्रेक्षमा विद्युतीय ऊर्जा समृद्धिको मुख्य आधारमध्ये रहेको उल्लेख गरे। आयोजना सम्पन्न गर्न प्रदेश सरकारका तर्फबाट आवश्यक सहयोग र समन्वय गरिने उनले प्रतिबद्धता जनाए।


