छिमेकी मुलुक चीनको उदाहरण यहाँ सान्दर्भिक छ। सन् १९७० को दशकतिर चीनमा विदेशी लगानी प्रायः शून्य थियो। त्यतिबेला विश्वले चीनलाई विश्वास गर्दैनथ्यो — राजनीतिक अनिश्चितता, बन्द अर्थतन्त्र र अस्पष्ट कानुनी संरचनाका कारण विदेशी लगानीकर्ता टाढै थिए। आज नेपालप्रति विदेशी लगानीकर्ताको दृष्टिकोण जस्तो छ, त्यो समय चीनप्रति पनि लगभग त्यस्तै थियो।
तर चीन विदेशी पुँजी कुरेर बसेन। हङकङ र मकाउमा रहेका प्रवासी चिनियाँहरू नै पहिलो लगानीकर्ता बने। उनीहरूले केवल पुँजी मात्र भित्र्याएनन्, लगानीमैत्री नीति, ऐन–कानुन र संस्थागत संरचना सुधार्न राज्यलाई दबाब र सहयोग गरे। वैदेशिक लगानी सुरक्षित छ भन्ने सन्देश उनीहरूकै लगानीबाट स्थापित भयो।
यसको परिणामस्वरूप १९९० को दशकपछि मात्र चीनमा ठूलो परिमाणमा विदेशी लगानी आउन थाल्यो। त्यसपछि निरन्तर पुँजी प्रवाह, औद्योगिकीकरण र निर्यात–आधारित वृद्धिले चीनलाई आजको आर्थिक शक्तिमा रूपान्तरण गर्यो। आज नेपालको अवस्था पनि धेरै हदसम्म त्यही मोडमा छ। अहिले विदेशी लगानीकर्ता नेपालमा सहजै आउन तयार छैनन्। यसको प्रमुख कारण विश्वासको अभाव, नीतिगत अन्योल र राजनीतिक अस्थिरता हुन्। त्यसमाथि हालैको जेनजी आन्दोलनले लगानीकर्ताको भरोसा अझ कमजोर बनाएको छ।
यस्तो अवस्थामा समाधान बाहिर होइन, भित्रै छ। यदि विदेशमा रहेका आर्थिक रूपमा सक्षम नेपालीहरूलाई लक्षित गरेर विश्वासिलो नीति र सुरक्षित लगानी वातावरण तयार गर्न सकियो भने, उनीहरू नै नेपालको आर्थिक रूपान्तरणका पहिलो वाहक बन्न सक्छन्। त्यसैको जगमा मात्र भोलि विदेशी लगानी स्वतः आकर्षित हुनेछ।
तर नेपालमा नीतिगत अन्योल र राजनीतिक अस्थिरता कारण नेपालीले नै लगानी गर्न छाडिसकेको अवस्था छ। विदेशीले लगानी गर्ने कुरा नै भएन। लगानी गर्यो, त्यो पैसा फर्काउन पाउने हो कि होइन भन्ने चिन्ता लगानीकर्ताको हुन्छ। विदेशीले लगानी गर्दा केवल त्यो फाइदा कति प्रतिशत भयो भन्दा पनि करेन्सी डिभ्यालुएसन हुन्छ कि हुँदैन भन्ने हेर्छन्। लगानी फिर्ता (रिप्याट्रिएसन) को कुरा त भइहाल्यो। त्यही भएर अहिले विदेशी आउने सम्भावना एकदमै कम छ। तर हामी जस्ता नेपालीहरूलाई त त्यो पैसा फर्काएर लानुपर्दैन। डिभ्यालुएसन भए पनि मतलब भएन। त्यही भएर अहिले नेपालीहरूले लगानी गर्न एकदम सही समय छ। विदेशी लगानीकर्ताले जोखिम सम्झेका बेला लगानी आउने सम्भावना हुँदैन। त्यही भएर अहिलेको अवस्थामा विदेशमा बस्ने नेपालीहरूलाई नै सरकारले पनि जोड गर्नुपर्छ। किनकि विदेशीलाई जोड गरेर कामै छैन। जति पहल गरे पनि हुँदैन।
तर, विदेशमा बस्ने नेपालीहरूलाई पैसा ल्याऊ भन्न सकिन्छ। ल्याउने वातावरण बनेमा, त्यसअनुसार व्यवस्था भएमा, सहुलियत दिने नियम, कानुनह बनाउने हो भने त्यो लगानी सहज रूपमा भित्रिन्छ। चीन र कोरियाको प्रारम्भिक अवस्था (इनिसियल स्टेज) मा गैरआवासीय त्यही मुलुकका नागरिकले नै गरेका हुन्छन्। अहिले ठ्याक्कै त्यही अवस्था नेपालको छ। त्यही भएर पनि नेपालीहरूका लागि अब ठूला अवसर पनि छन्। भोलि राम्रो हुँदै गयो भने त फेरि हामीले लगानी गर्नै पाउँदैनौँ। विदेशीले गरिहाल्छन्।







