काठमाडौँ: एजुकेसनल कन्सल्टेन्सी एसोसिएसन अफ नेपाल (इकान) को आगामी निर्वाचनका लागि वर्तमान प्रथम उपाध्यक्ष लक्ष्मण पौडेल (एन्ड्रयू) ले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्।
दुई दशकभन्दा बढी समयदेखि शैक्षिक परामर्श व्यवसायमा सक्रिय पौडेल गुणस्तरीय शिक्षा र जिम्मेवार परामर्श सेवाको पक्षमा निरन्तर आवाज उठाउँदै आएका व्यक्तिका रूपमा परिचित छन्। शैक्षिक परामर्श कम्पनीहरूको व्यावसायिक सुधार, मर्यादा, न्याय र संरक्षणलाई प्राथमिकतामा राख्दै उनी निरन्तर वकालत गर्दै आएका छन्। साथै, आफ्नो व्यवसायिक यात्रासँगै क्षेत्रभित्र कार्यरत टिम सदस्य र सहकर्मीहरूको क्षमता अभिवृद्धि तथा प्रशिक्षणमा पनि उनी सक्रिय देखिन्छन्।
गत निर्वाचनमा लोकप्रिय मत प्राप्त गर्दै उपाध्यक्षमा निर्वाचित पौडेल हाल प्रथम उपाध्यक्षको जिम्मेवारी सम्हालिरहेका छन्। यसअघिको कार्यअनुभव र संस्थागत निरन्तरताको आवश्यकता अनुसार अध्यक्ष पदमा उम्मेदवारी दिनु स्वाभाविक निर्णय भएको उनको धारणा छ। उनका अनुसार इकानलाई अझ व्यवस्थित, सबल र प्रभावकारी बनाउन यही उद्देश्यका साथ आफू नेतृत्वका लागि अघि बढेका हुन्।
उनको उम्मेदवारीलाई इकानभित्र महत्वपूर्ण रूपमा लिइएको छ। सदस्यहरूबीच गरिएको बुझाइ र सर्वेक्षणका आधारमा पौडेल इकानजस्तो ठूलो सदस्य संगठनलाई सुधार, सुदृढीकरण र सहकार्यको दिशामा अगाडि बढाउन सक्षम व्यक्ति मानिन्छन्।
