काठमाडौं। हाइड्रो इलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआडीसीएल)को सहायक कम्पनी रेमिट हाइड्रो लिमिटेडले ७७.५ मेगावाट क्षमताको घुन्सा खोला जलविद्युत आयोजना बनाउन प्रक्रिया अघि बढाएको छ।
कम्पनीले पहिलो लटअन्र्तगत आयोजनाको सिभिल संरचना र हाइड्रोमेकानिकल उपकरणका लागि विश्वव्यापी बोलपत्र ( ग्लोबल टेन्डर) आब्हान गरेको छ। कम्पनीले आयोजनाको सिभिल र हाइड्रोमेकानिकलको काम इन्जिनियरिङ प्रक्युमेन्ट एन्ड कन्ट्रयाक्ट (ईपीसी) खाकामा बनाउने गरी टेन्डर आब्हान गरेको हो।
विदेशी कम्पनीले नेपाली निर्माण व्यवसायीसँग साझेदारी गर्नुपर्ने भएको छ। भाग लिने निर्माण व्यवसायीले प्राविधिक र मूल्य बेग्लै पेश गर्नुपर्ने टु इन्भलप सिस्टम भएको कम्पनीले जनाएको छ। बोलपत्र पेश गर्ने अन्तिम मिति फेब्रुअरी २३ सम्म रहेको छ। सोही दिन बोलपत्र खोलिने जानकारी रेमिटले दिएको छ।
आयोजना बनाउन लगानी जुटेको छ। आयोजना विकासकर्ता रेमिट हाइड्रो र लक्ष्मी सनराइज बैंकबीच गत वर्ष नै ऋण लगानी सम्झौतामा हस्ताक्षर भएको हो।
आयोजना नदी प्रवाहमा आधारित (आरओआर) प्रकृतिको छ। घुन्सा खोला आयोजना बनाउन निर्माण अवधिको ब्याजसहित १८ अर्ब १३ करोड रुपैयाँ रहेको छ। आयोजनामा पाँच अर्ब ४४ करोड स्वपुँजी (इक्विटी) लगानी रहेको छ।
लक्ष्मी सनराइजको अगुवाइमा पाँच बैंकको १२ अर्ब ७० करोड रुपैयाँ ऋण लगानी गर्ने भएका छन्। जसअनुसार लक्ष्मी सनराइजले पाँच अर्ब, एचआडीसीएलकोे तीन अर्ब, नागरिक लगानी कोषको दुई अर्ब, माछापुच्छ्रे बैंकको एक अर्ब ४५ करोड र एभरेष्ट बैंकको एक अर्ब २५ करोड रुपैयाँ लगानी गर्ने छन्।
आयोजना काम सुरु गरको चार वर्ष अर्थात सन् २०३० मा सम्पन्न गर्ने लक्ष्य रहेको छ। आयोजना निर्माणको लागि निर्माण अवधिको ब्याजसहित ऋण र स्वपुँजीको अनुपात ७०ः३० हुने गरी लगानी संरचना बनाइएको छ।
स्वपुँजीतर्फ नेपाल विद्युत प्राधिकरण २१ प्रतिशत, एचआईडीसीएलको १५ प्रतिशत र विद्युत उत्पादन कम्पनी लिमिटेडको १५ प्रतिशत गरी ५१ प्रतिशत स्वामित्व रहेको छ।
४९ प्रतिशत जनताको लगानी सुनिश्चित हुने गरी व्यवस्था गरिएको छ।
साधारण सेयर तर्फको ४९ प्रतिशत मध्ये २९ प्रतिशत वैदेशिक रोजगारमा गएका नेपाली नागरिकहरुको लागि, १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई र बाँकी १० प्रतिशत सर्वसाधारणको लागि छुट्याइएको छ।आयोजनाको प्रतिमेगावाट लगानी २३ करोड ४० लाख रुपैयाँ हुने देखिएको छ।
ताप्लेजुङ जिल्लाको फक्ताङलुङ गाउँपालिका वडा नम्बर ५ र ६ मा अवस्थित घुन्सा खोलाको पानीलाई उपभोग गरी बिजुली उत्पादन गर्ने कम्पनीको लक्ष्य छ।
योजनाबाट उत्पादित विद्युत उर्जा आयोजनाको विद्युतगृहदेखि करिव ३ किलोमिटर दूरीमा राष्ट्रिय प्रासारण ग्रिड कम्पनी लिमिटेड तथा सो क्षेत्रका जलविद्युत आयोजनाहरुबाट सार्वजनिक निजी साझेदारी अन्तर्गत निर्माण गरिने मार्केस्थित २२० १३२ केभी तमोर सबस्टेशन र सोबाट करिव ३२ किलोमिटर लामो २२० केभी डबल सर्किट प्रसारण लाइनमार्फत विद्युत प्राधिकरणको ढुंगेसाँघु स्थित २२० केभी सबस्टेसनमा जोडिने छ।
आयोजना बनाउन विद्युत विकास विभागले रेमिटलाई २०७९ साउन १८ गते विद्युत उत्पादन अनुमतिपत्र (लाइसेन्स) दिएको थियो। रेमिट हाइड्रो २०७१ मंसिर २८ गते स्थापना भएको हो। आयोजनाको ग्रस हेड ४३२ मिटर रहेको छ। मुख्य सुरुङको लम्बाइ ४.२० किलोमिटर रहेको रेमिटले जनाएको छ। आयोजना सन् २०१४ मा पत्ता लागेको हो।
आयोजनाको बाँध स्थल, इन्टेक, थिग्राउने पोखरी र पहुँच सडक फक्ताङलुङ गाउँपालिकाको वडा नम्बर ५ र ६ मा रहने गरी डिजाइन तयार पारिएको कम्पनीले जनाएको छ। कम्पनीका अनुसार बाँध क्षेत्रबाट करिब ४ हजार ३ सय मिटर हेडरेस सुरुङमार्फत पानीलाई फक्ताङलुङ गाउँपालिकाकै वडा नम्बर ६ मा निर्माण हुने भुमिगत विद्युतगृहमा खसालिने छ।
विद्युतगृहमा ३ वटा टर्वाइन जडान हुनेछन्। टर्वाइनमा जडान भएको ३ वटा जेनेरेटर गुमाएर विद्युत उत्पादन हुने गरी प्रस्ताव गरिएको छ। हेडरेस सुरुङ, सर्ज ट्याङक, पेनस्टक पाइप र टेलरेस सुरुङ पनि त्यही गाउँपालिकाको वडा नम्बर ६ मा रहनेछ।
आयोजना पूरा भएपछि वार्षिक सरदर ४५ करोड ८५ लाख ८ हजार युनिट विद्युत उत्पादन हुनेछ। आयोजनाबाट उत्पादन भएको विद्युत नेपाल विद्युत प्राधिकरणको ढुंगेसाँघु सबस्टेसनमा जोडिनेछ।


