काठमाडौं। चालु आर्थिक वर्ष २०८२०८३ को पाँच महिनामा देशको आर्थिक तथा वित्तीय अवस्था सुधारोन्मुख देखिएको छ। नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको तथ्यांकअनुसार मङ्सिर महिनामा वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति घटेर १.६३ प्रतिशतमा सीमित भएको छ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ६.०५ प्रतिशत थियो। मुद्रास्फीति घटेसँगै उपभोक्ताको भान्सामा प्रत्यक्ष राहत पुगेको संकेत देखिएको छ।
समीक्षा अवधिमा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति २.०५ प्रतिशत ऋणात्मक रहेको छ भने गैर–खाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.७५ प्रतिशत छ। अघिल्लो वर्ष खाद्य समूहको मुद्रास्फीति ९.९९ प्रतिशत थियो। तथ्यांकअनुसार तरकारी उपसमूहको मूल्य ८.५४ प्रतिशत, मरमसलाको ८.४३ प्रतिशत र दाल तथा गेडागुडीको ५.७९ प्रतिशत घटेको छ। यसले दैनिक उपभोग्य वस्तुको मूल्य सस्तो भएको देखाउँछ।
यद्यपि गैर–खाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवाको मूल्य १८.५६ प्रतिशत, शिक्षाको ७.५६ प्रतिशत, कपडा तथा जुत्ताचप्पलको ५.२९ र मदिराजन्य पदार्थको ३.८५ प्रतिशतले बढेको छ। बीमा तथा वित्तीय सेवा उपसमूहको मूल्य भने ०.२३ प्रतिशत घटेको छ।
भौगोलिक क्षेत्रअनुसार काठमाडौं उपत्यकामा मुद्रास्फीति १.९५, तराईमा १.७१, पहाडमा १.३६ र हिमाल क्षेत्रमा १.४७ प्रतिशत रहेको छ।
बाह्य क्षेत्र पनि सुदृढ देखिएको छ। मङ्सिर मसान्तसम्म कुल विदेशी विनिमय सञ्चिति ३२ खर्ब १ अर्ब ४७ करोड रुपैयाँ (२२ अर्ब १३ करोड अमेरिकी डलर) पुगेको छ, जुन १८ महिनाभन्दा बढी आयात धान्न पर्याप्त रहेको राष्ट्र बैंकले जनाएको छ। चालु खाता ३५८ अर्ब ८३ करोड र शोधनान्तर ४२१ अर्ब ८९ करोड रुपैयाँ बचतमा रहेको छ।
विप्रेषण आप्रवाह उल्लेख्य रूपमा बढेको छ। पाँच महिनामा करिब ८ खर्ब ७० अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ। व्यापारतर्फ निर्यात ५८.२ प्रतिशत बढ्दा आयात १५.८ प्रतिशत मात्र वृद्धि भएको छ।
वित्तीय क्षेत्रमा बैंक तथा वित्तीय संस्थाको निक्षेप ३.९ प्रतिशत र निजी क्षेत्रमा प्रवाहित कर्जा १.९ प्रतिशत बढेको छ। वार्षिक आधारमा निक्षेपको वृद्धिदर १३.९ प्रतिशत र कर्जाको वृद्धिदर ६.६ प्रतिशत रहेको छ।


