काठमाडौं– मिटरब्याज जाँचबुझ आयोगमा ६७ जिल्लाका मिटरब्याजी पीडितले उजुरी दिएका छन्। २२ हजार मिटरब्याजी पीडितले उजुरी दिएको आयोगले बताएको हो।
सरकारले १७ वैशाखमा विशेष अदालतका पूर्वअध्यक्ष गौरीबहादुर कार्कीको नेतृत्वमा गठन गरेको मिटरब्याज जाँचबुझ आयोगमा सबैभन्दा बढी मधेस प्रदेशमा उजुरी आएका छन्। जिल्ला प्रशासन कार्यालयमार्फत आयोगमा उजुरी दिनेमा बाराका सबैभन्दा बढी छन्।
आयोगका सदस्य एवं पूर्वनायव महान्यायाधिवक्ता गणेशबाबु अर्यालले बारामा मात्रै ३ हजार ३२२ निवेदन परेको बताए। पर्सामा १ हजार ३२१, रौतहटमा २ हजार ५८, सर्लाहीमा १ हजार ९२०, महोत्तरीमा २ हजार ३३६, धनुषामा २ हजार ६१५, सिराहामा २ हजार ९२० र सप्तरीमा १ हजार ५७९ वटा निवेदन परेका छन्।
‘पीडितका तर्फबाट २२ हजार निवेदन परेका छन्। १६ हजारको तथ्यांक इन्ट्री भइसकेको र केही मुद्दामा मिलापत्र भएको छ। अदालतबाट मुद्दा चलेका, फैसला भएका र भर्खरै कानुनी प्रक्रियामा आएका मुद्दालाई प्राथमिकताका आधारमा वर्गीकरण गरेर समाधान गरिनेछ’, उनले भने।
आयोगका सदस्य एवं प्रवक्ता उत्तमराज सुवेदीले जिल्ला प्रशासन कार्यालय, नगरपालिका प्रमुख र उपप्रमुख, गाउँपालिका अध्यक्ष र उपाध्यक्ष, न्यायिक समितिसहित सरोकारवालाले पनि मिटरब्याजपीडितका लागि काम अघि बढाएको बताए।
आयोग अध्यक्ष कार्कीले मिटरब्याजी पीडितको न्यायका पक्षमा काम अघि बढाउन चुनौतीपूर्ण रहे पनि समाधान आउने विश्वास व्यक्त गरे। उनले भने, ‘२० जिल्लामा स्थलगत अध्ययनमा जाँदा धेरै किसिमका समस्या पायौँ। गरिब जनताले कृषि कार्यका लागि महाजनबाट ऋण लिँदा एकको तीन गुणा लेख्ने गरेको पाइन्छ। यो विकृति तोड्न निकै चुनौतीपूर्ण छ।’


