काठमाडौं–नेपाल विद्युत् प्राधिकरणले पिछडिएका तथा आर्थिक रुपमा विपन्न घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको छ। प्राधिकरणले मधेस प्रदेशमा पर्ने महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गत क्षेत्रमा बसोबास गर्ने विपन्न वर्गका घरपरिवारलाई निःशुल्क विद्युत् मिटर वितरण गरेको हो।
प्राधिकरणले मुलुकभर रहेका आफ्ना वितरण केन्द्रमार्फत विपन्न वर्गलाई निः शुल्क मिटर उपलब्ध गराएर विद्युत जडान गरिदिँदै आएको छ। विपन्न वर्गले प्राधिकरणको मापदण्डअनुसार ५–३० एम्पिएर क्षमताको बक्ससहितको सिंगल फेज इनर्जी मिटर, एमसीबी बक्स निःशुल्क पाउनेछन्। प्राधिकरणले मिटर जडानका लागि सेवाशुल्क लिँदैन। मिटरको १ हजार ९ सय ३५ रुपैयाँ, एमसीबीको मूल्य, अधिकतम २ वटा पोल (करिब १ सय मिटर)सम्मको सर्भिस केबल, जडान गर्दा लाग्ने सेवाशुल्कसहित नयाँ मिटर जडान गर्दा प्रतिघरपरिवार १२ हजारदेखि १५ हजार रुपैयाँ खर्च हुन्छ।
प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले महोत्तरीको गौशाला र धनुषाको धनुषाधाम वितरण केन्द्रअन्तर्गतका पालिकामा बसोबास गर्ने विपन्न वर्गका घरपरिपारलाई निःशुल्क मिटर वितरण गरे।
गौशाला र धनुषाधाम वितरण केन्द्रअन्तर्गतका क्रमशः ६८ र १६२ विपन्न घरपरिवारलाई निःशुल्क मिटर वितरण गरिएको हो।
कार्यकारी निर्देशक घिसिङले विद्युत् नै नपुगेका ठाउँको खोजी गरी अहिले त्यस्ता ठाउँमा बसोबास गरिरहेका नागरिकलाई विद्युत् पु¥याउन विद्युतीकरणको अन्तिम माइलको यात्रा चलिरहेको बताए। ‘विद्युत् पुगेका ठाउँको लोडसेडिङ अन्त्यको चरण पार गरी अहिले २४ सै घन्टा लोडसेडिङ भएका ठाउँमा विद्युत् पु¥याउने चरणको अन्त्यतिर छौं। अहिले करिब ९६ प्रतिशत विद्युतीकरण भइसकेको छ। विद्युत् नै नपुगी सधंै लोडसेडिङमा रहेका घरमा विद्युत् पु¥याउने कार्यलाई प्राथमिकतामा राखेर बढीमा दुई वर्षभित्र विद्युतीकरण गर्ने गरी अन्तिम माइलको यात्रामा छौं। योसँगै विद्युत् आपूर्तिलाई पर्याप्त, भरपर्दो र गुणस्तरीय बनाउन प्रसारण तथा वितरणतर्फका पूर्वाधार संरचना विस्तार र सुदृढीकरण गरिरहेका छौं’, घिसिङले भने।
कोही नागरिक पनि विद्युत् उपभोगबाट वञ्चित हुनु नपरोस् भनेर विपन्न वर्गलाई निःशुल्क मिटर दिने व्यवस्था गरिएको उनले बताए। ‘पैसा अभावमा मिटर राख्न नसकेपछि विपन्न वर्गले हुकिङ गरी विद्युत् प्रयोग गर्दै आएका थिए। निःशुल्क मिटर वितरणपछि चोरी नियन्त्रण भई विद्युत् चुहावट घट्ने र अनधिकृत प्रयोगमार्फत हुने विद्युतीय दुर्घटना कम हुनेछ,’ उनले भने।
मधेसलाई चाँडै पूर्ण विद्युतीकरण भएको प्रदेश घोषणा गर्न लागिएको उल्लेख गर्दै विद्युत् नपुगेको ठाउँ भए तत्काल खबर गर्न र चुहावट नियन्त्रणमा सहयोग गर्न उनले आग्रह गरे। मधेस प्रदेशमा वैशाखसम्म वितरणतर्फको विद्युत् चुहावट १३.२७ प्रतिशत छ। उनले भने, ‘खेतखेतमा विद्युत् पु¥याएर सिँचाइमार्फत उब्जनी र उत्पादकत्व बढाउनुपर्छ। यसका लागि स्थानीय तहसँगको सहकार्यमा सिँचाइ विद्युतीकरण अगाडि बढाएका छौं।’
तराई/मधेस क्षेत्रमा सिँचाइको विद्युतीकरणका लागि धेरै माग आउने गरेको प्राधिकरणका मधेस प्रदेश प्रादेशिक कार्यालय, जनकपुरका प्रमुख मुनिन्द्र ठाकुरले बताए। १ सय केभिएसम्मका जुनसुकै ग्राहकका लागि र २ सय केभिएसम्म दुग्ध चिस्यान केन्द्र, शीतभण्डार, सामुदायिक खानेपानी, सामुदायिक सिँचाइलाई प्राधिकरणकै ट्रान्सफर्मरबाट विद्युत् आपूर्ति दिने व्यवस्था गरिएको छ।
मधेस प्रदेशका ८ जिल्लामा प्राधिकरणका १० लाख ४४ हजार ग्राहकमध्ये गार्हस्थ ग्राहक संख्या ९ लाख ३४ हजार छ। यसमध्ये घरमा ५ एम्पियरको सिंगल फेज मिटर राखी मासिक रुपमा ३० रुपैयाँ तिर्ने र २० युनिट विद्युत् निःशुल्क पाउने ग्राहकको संख्या २ लाख छ।
सिञ्जा पुग्योे राष्ट्रिय विद्युत् प्रसारण लाइन
जुम्लाको सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्र नराकोट बजारसम्म राष्ट्रिय प्रसारण लाइनको सेवा विस्तार गरिएको छ। सिञ्जा क्षेत्रमा पर्ने ३ स्थानीय तहमध्ये हिमा र सिञ्जा गाउँपालिकाको प्रशासनिक केन्द्रमा विद्युत् प्राधिकरणको राष्ट्रिय प्रसारण लाइन विस्तार भई विद्युत् सेवा सञ्चालनमा आएको जुम्ला वितरण केन्द्रका प्रमुख नरेशदत्त रावलले जानकारी दिए।
हिमाको प्रशासनिक केन्द्रसम्म विस्तार भएको राष्ट्रिय प्रसारण लाइन शुक्रबारदेखि सिञ्जाको नराकोट बजारसम्म विस्तार भएपछि स्थानीयलाई राहत भएको छ। विद्युत् अभावले काम गर्न कठिन हुने गरेको थियो। प्राधिकरणको जुम्ला वितरण केन्द्रले सिञ्जाको प्रशासनिक केन्द्रसम्म विद्युत् सेवा पुगेपछि गाउँपालिकामा अब काम गर्न सहज हुने उपाध्यक्ष शितली रोकायाले बताइन्।
नराकोटमा रहेको ट्रान्सफर्मरमा बिजुली चार्ज गरी सेवा शुभारम्भ गरिएको छ। सिञ्जा क्षेत्रका ग्रामीण ठाउँसम्म प्रसारण लाइनको सेवा विस्तार गर्ने काम तीव्र गतिमा भइरहेको छ। केही दिनपछि कनकासुन्दरी गाउँपालिका हुँदै मुगुसम्म प्रसारण लाइन पु¥याउने लक्ष्य रहेको प्राधिकरणका प्रमुख रावलले बताए।
सिञ्जासम्म राष्ट्रिय प्रसारण लाइन विस्तार भएपछि इलाका प्रशासन कार्यालयलगायत गाउँपालिकाबाट हुने सेवा प्रवाहमा सहजता हुने अपेक्षा गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत मित्रलाल धितालले जानकारी दिए।


