काठमाडौं।प्रस्तावित ४४.५२ मेगावाट क्षमताको सानी भेरी जलविद्युत् आयोजना निर्माण हुने भएको छ। आयोजनाको विभिन्न प्राविधिक तथा प्रशासनिक प्रक्रिया अघि बढाइएको छ।
आयोजनाले आवश्यक अनुमति, सहमति तथा पूर्वाधार विकासका कामहरू चरणबद्ध रूपमा अगाडि बढाइरहेको विद्युत विकास विभागले जनाएको छ।
विभागकाअनुसार आयोजनाको प्रसारण लाइन, रुट अलाइनमेन्ट, ग्रिड कनेक्शन सम्झौता लगायतका विषयमा आवश्यक तयारी भइरहेको छ।
विद्युत् उत्पादनपछि राष्ट्रिय प्रसारण प्रणालीमा विद्युत् जोड्नका लागि सम्बन्धित निकायसँग समन्वय भइरहेको उल्लेख छ। आयोजनाले वातावरणीय तथा सामाजिक पक्षलाई ध्यानमा राख्दै काम अगाडि बढाउने प्रतिबद्धता जनाएको छ।
आयोजना सम्पन्न भएपछि राष्ट्रिय विद्युत् उत्पादनमा योगदान पुग्ने र स्थानीय स्तरमा रोजगारी तथा आर्थिक गतिविधि बढ्ने अपेक्षा गरिएको छ। साथै, ऊर्जा आत्मनिर्भरतातर्फ मुलुकलाई अघि बढाउन यस आयोजनाले महत्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ।
आयोजनाले गत भदौ दोस्रो साता सिटिजन्स बैंक इन्टरनेशनलको नेतृत्वमा रहेका बैंकहरूको कन्सोर्टियमबाट सात अर्ब २० करोड रुपैयाँ ऋण लगानी गर्ने सम्झौता भएको छ।
सम्झौताअनुसार कुल लगानीको ७५ प्रतिशत बैंक तथा वित्तीय संस्थाहरूले उपलब्ध गराउनेछन् भने बाँकी २५ प्रतिशत रकम आयोजनाका प्रवद्र्धकले व्यहोर्नेछन्।
सिटिजन्स बैंकले २ अर्ब ५० करोड रुपैयाँ, नबिल बैंकले १ अर्ब ५० करोड रुपैयाँ, नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले १ अर्ब २० करोड रुपैयाँ, सिद्धार्थ बैंकले १ अर्ब रुपैयाँ र सनिमा बैंकले १ अर्ब रुपैयाँ ऋण लगानी गर्नेछन्। आयोजनाका प्रवद्र्धक एक्सपर्ट हाइड्रो इन्भेष्टमेन्टले २ अर्ब ४० करोड रुपैयाँ स्वपुँजी लगानी गर्नेछ।
आयोजनाबाट वार्षिक २८ करोड ११ लाख १३ हजार युनिट बिजुली उत्पादन हुने अध्ययनले देखाएको छ। आयोजनाबाट सुक्खा मौसममा नौ करोड ८७ लाख २७ हजार र वर्षा मौसममा १८ करोड २३ लाख ८६ युनिट बिजुली उत्पादन हुनेछ।
सानी भेरी जलविद्युत् आयोजनाले रुकुम पूर्व जिल्लाका पुथा उत्तरगंगा र सिस्ने गाउँपालिकाबाट बग्ने सानी भेरी नदीको पानी उपयोग गर्नेछ।


