काठमाडौँ: अर्थ मन्त्रालयले चालु आर्थिक वर्ष २०८२/८३ को दोस्रो त्रैमाससम्मको सरकारको प्रगति विवरण सार्वजनिक गरेको छ। विवरणअनुसार यस वर्ष पनि सरकार पर्याप्त विकास बजेट खर्च गर्न असफल देखिएको छ।
साउनदेखि पुस मसान्तसम्ममा कुल वार्षिक बजेट लक्ष्यको ४६.०६ प्रतिशत खर्च भएको छ। सरकारले चालु आवका लागि कुल रू १९ खर्ब ६४ अर्ब ११ करोड बजेट विनियोजन गरेकामा यस अवधिसम्म रू नौ खर्ब चार अर्ब ६४ करोड ४३ लाख खर्च भएको छ। गत आर्थिक वर्षको सोही अवधिको तुलनामा यो खर्च १०.७५ प्रतिशतले बढी हो।
यस अवधिमा चालु शीर्षकमा रू ११ खर्ब ८० अर्ब ९८ करोड विनियोजन भएकोमा ४०.८२ प्रतिशत अर्थात् चार खर्ब ८३ अर्ब १० करोड रुपैयाँ बजेट खर्च भएको छ। तर पुँजीगत (विकास) खर्चको अवस्था भने दयनीय देखिन्छ। सरकारले पुँजीगत तर्फ चार खर्ब ७ अर्ब ८८ करोड रुपैयाँ बजेट विनियोजन गरेकोमा ४७ अर्ब ५४ करोड ८० लाख रुपैयाँ मात्रै खर्च गर्न सकेको छ। यो भनेको ११.६६ प्रतिशत मात्रै हो।
राजस्व संकलनतर्फ पनि सरकार दबाबमा परेको देखिन्छ। सरकारले चालु आवमा १४ खर्ब ४० अर्ब राजस्व उठाउने लक्ष्य लिए पनि पुस मसान्तसम्ममा पाँच खर्ब ८१ अर्ब ४० लाख रुपैयाँ राजस्व संकलन भएको छ। पुस मसान्तसम्ममा सात खर्ब ११ अर्ब २० करोड ७९ लाखको राजस्व उठाउने लक्ष्य रहे पनि लक्ष्यभन्दा २९ अर्ब ८० करोड कम राजस्व संकलन भएको हो।


