काठमाडौं। वार्षिक लक्ष्यअनुसार राजश्व संकलन गर्न सरकार कमजोर देखिएका बेला व्यक्तिगत आयकरमा पनि गिरावट आएको छ। चालू आर्थिक वर्ष २०८२/०८३ को छ महिनामा व्यक्तिगत आयकर संकलन ७.४३ प्रतिशत घटेको छ।
अर्थ मन्त्रालयले सार्वजनिक गरेको अर्धवार्षिक समीक्षाअनुसार पुस मसान्तसम्म व्यक्तिगत आयकर ४९ अर्ब ४९ करोड ७२ लाख रुपैयाँ मात्र संकलन भएको छ। गत वर्षको सोही अवधिमा सरकारले ५३ अर्ब ४७ करोड रुपैयाँ व्यक्तिगत आयकर संकलन गरेको थियो।
गत वर्षकोको सोही अवधिको तुलनामा यो वर्ष व्यक्तिगत आयकर झण्डै चार अर्ब रुपैयाँ घटेको अर्थले जानकारी दिएको छ।
चालू आर्थिक वर्षको पुस मसान्तसम्म सरकारले व्यक्तिगत आयकरतर्फ एकलौटी व्यवसायबाट १६ अर्ब दुई करोड, पारिश्रमिक करबाट १७ अर्ब छ करोड, सामाजिक सुरक्षा करबाट चार अर्ब, पुँजीगत लाभ करबाट १२ अर्ब १४ करोड र आकस्मिक लाभ करबाट सात करोड रुपैयाँ उठेको छ।
पारिश्रमिक कर, सामाजिक सुरक्षा कर र आकस्मिक लाभ करमा क्रमशः ९.०६, ५.५९ र ४.४२ प्रतिशत वृद्धि भए पनि एकलौटी व्यवसायमा लाग्ने आयकर ९.५१ प्रतिशत र व्यक्तिगत पुँजीगत लाभ कर २४.४६ प्रतिशत घटेको छ।
पुस मसान्तसम्म कुल एक खर्ब ३८ अर्ब १५ करोड ९४ लाख रुपैयाँ आयकर संकलन भएको छ। यो गत आर्थिक वर्षको सोही अवधिमा संकलित एक खर्ब ४१ अर्ब ९३ करोड ८३ लाख रुपैयाँको तुलनामा १.९२ प्रतिशत कम हो।
समग्र आयकर संकलन घटे पनि संस्थागत आयकरतर्फ भने सुधार देखिएको छ। गत वर्षको तुलनामा संस्थागत आयकर ९.२० प्रतिशत वृद्धि भएको छ भने लगानीसम्बन्धी आयकर १९.८१ प्रतिशत ऋणात्मक भएको छ।
संस्थागत आयकरतर्फ कुल ६६ अर्ब ६७ करोड ६१ लाख रुपैयाँ संकलन भएको छ। यसमध्ये सरकारी कम्पनीबाट ४ अर्ब ७० करोड, पब्लिक लिमिटेड कम्पनीबाट २९ अर्ब २९ करोड, प्राइभेट लिमिटेड कम्पनीबाट २३ अर्ब ९० करोड र अन्य कम्पनीबाट आठ अर्ब ७७ करोड रुपैयाँ उठेको छ।
सरकारी कम्पनी र पब्लिक लिमिटेड कम्पनीतर्फको आयकर संकलनमा क्रमशः ३१.०६ प्रतिशत र ११.६८ प्रतिशत वृद्धि भएको छ। प्राइभेट लिमिटेड कम्पनी र अन्य कम्पनीतर्फ पनि क्रमशः ०.८४ प्रतिशत र १६.५७ प्रतिशत वृद्धि भएको देखिन्छ।
लगानीसम्बन्धी आयकरतर्फ २१ अर्ब ९६ करोड एक लाख रुपैयाँ संकलन भएको छ। सम्पत्ति, बहाल तथा पट्टा वापत एक अर्ब २० करोड, ब्याज आयमा १३ अर्ब ४८ करोड, पुँजीगत लाभ कर दुई अर्ब १२ करोड, लाभांश कर तीन अर्ब ९० करोड, लगानीको अन्य आयमा २७ करोड ७० लाख र अन्य आयमा ९३ करोड ४४ लाख रुपैयाँ उठेको छ।
लगानीतर्फ लाभांश कर र अन्य आयमा लाग्ने करमा क्रमशः १०.३९ प्रतिशत र १३७.४८ प्रतिशत वृद्धि भए पनि सम्पत्ति, बहाल तथा पट्टा वापतको आयकर, ब्याजकर र पुँजीगत लाभ करतर्फ क्रमशः ७.९४, १६.३८ र ५९.९० प्रतिशत गिरावट आएको छ।
यसैबीच सरकारले चालु आर्थिक वर्षको राजस्व लक्ष्य १२.३० प्रतिशतले घटाएको छ। प्रारम्भिक रूपमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखिएकोमा अब संशोधन गरी १२ खर्ब ९८ अर्ब ९ करोड १० लाख रुपैयाँमा झारिएको छ।
जुन प्रारम्भिक लक्ष्यको ८७.७० प्रतिशत हो। अर्थमन्त्री रामेश्वर खनालले आर्थिक गतिविधि सुधार र निर्वाचन लक्षित खर्चका कारण संशोधित लक्ष्य प्राप्त गर्न कठिन नहुने बताएका छन्।
भन्सार महसुलको प्रारम्भिक लक्ष्य तीन खर्ब पाँच अर्ब ५७ करोड रहेकोमा संशोधनपछि दुई खर्ब ६७ अर्ब ८३ करोड रुपैयाँमा झारिएको छ।
मूल्य अभिवृद्धि कर (भ्याट) तीन खर्ब ९४ अर्ब ५९ करोडबाट घटाई ३ खर्ब ६९ अर्ब १० करोड रुपैयाँ हुने अनुमान गरिएको छ। अन्तःशुल्क दुई खर्ब १३ अर्ब १५ करोडबाट घटाई एक खर्ब ९८ अर्ब पाँच करोड रुपैयाँ कायम गरिएको छ।
आयकर संकलनको लक्ष्य चार खर्ब सात अर्ब दुई करोडबाट घटाएर तीन खर्ब २५ अर्ब ५१ करोड रुपैयाँमा सीमित गरिएको छ।
कर राजस्वको समग्र लक्ष्य १३ खर्ब २५ अर्ब ५८ करोडबाट घटाएर ११ खर्ब ६६ अर्ब ३० करोड रुपैयाँ कायम गरिएको छ। गैरकर राजस्व १ खर्ब ५४ अर्ब ४१ करोडबाट घटाई एक खर्ब २७ अर्ब ७७ करोड रुपैयाँ अनुमान गरिएको छ।


