काठमाडौँः जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै काठमाडौंमा सञ्चालन हुने रात्रीकालीन व्यवसायहरूको समयसीमा तोकेको छ। प्रशासनले दोहोरी साँझ, डान्स बार, क्लब लगायत सबै प्रकारका रात्रीकालीन व्यवसाय राति ९ बजेसम्म मात्र सञ्चालन गर्न पाइने निर्णय गरेको हो।
निर्णयअनुसार काठमाडौं जिल्लाभित्र सञ्चालित सम्पूर्ण रात्रीकालीन व्यवसायहरू २०८२ फागुन १८ गतेदेखि लागू हुने गरी राति ९ बजेसम्म मात्रै सञ्चालन गर्न पाइनेछ। अर्को निर्णय नभएसम्म यो व्यवस्था कायम रहने प्रशासनले जनाएको छ।
प्रशासनले तोकिएको समयसीमा पूर्ण रूपमा पालना गर्न व्यवसायी, सञ्चालक तथा सरोकारवाला सबैलाई आग्रह गरेको छ। निर्वाचन अवधिमा सुरक्षा, शान्ति व्यवस्था र सार्वजनिक हितलाई ध्यानमा राख्दै यस्तो निर्णय गरिएको प्रशासनको भनाइ छ।


