यस पटकको चुनावमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अभुतपुर्व जनसमर्थन पायो। जनताको यो निर्णय सबैलाइ स्वीकार्य छ र हुनुपर्छ। यो व्यापक जनसमर्थनले रास्वपाका काँधमा गम्भीर जिम्मेवारी पनि सुम्पेको छ।
आफ्नै वाचा र जनताको भरोसा टुट्न नदिने देशलाई अहिले चाहिएको विधिको शासन र सहिष्णुताको संस्कृति नै हो। यसकासाथै आर्थिक क्षेत्रमा सम्वृद्धि र व्यापक सुधारका लागि राष्ट्रिय शक्तिकाबीच सहकार्य गर्ने तत्परता र राष्ट्रियता सुदृढ गर्ने साझा संकल्प पनि देश र जनताले खोजेका छन।राजनीतिमा यस्तो दुरदृष्टी, कार्यशैली र संरचनागत परिवर्तन प्रारम्भ गर्न रास्वपालाई सफलता मिलोसः मेरो शुभकामना छ।
कांग्रेसले यस चुनावमा सत्ता मोहका पुराना गल्ती ( कम्युनिष्ट दलसंगको गैर सैध्दान्तिक गठबन्धन र जनताको भावनालाई निरन्तर उपेक्षा गर्ने नेतृत्वको अहंकारी कार्यशैलीका कारण आफ्नो ठुलो जनाधार गुमाएको छ।
नजिक र सँगै हुर्किएका बाँसहरु तीव्र हावा चलेका बेला अरणी मन्थन गर्दाझैं आफ्नै घर्षणले निष्केको आगोले नष्ट हुने दुर्भाग्यले पनि कांग्रेसलाई अझै छाडेको छैन। कांग्रेस भित्र चुनावको ठिकअघि मात्र प्रारम्भ भएको नीति, नेतृत्व र संकल्पको परिवर्तनको आभास र प्रभाव पनि जनतासम्म यथेष्ट मात्रामा पुग्न सकेन।
तर, कांग्रेसभित्र सुधारको यो अधुरो र आंशिक प्रभावले शायद यस्लाई अन्य कम्युनिष्ट दलको हविगत भन्दा थोरै अलग राख्यो।
यो चुनाव परिणामले कांग्रेसको एउटा पंक्ति निराश हुन सक्छ। तर, मलाई विश्वास छ निरन्तर संघर्ष र बलिदानको अग्निपरीक्षाबाट खारिएको कांग्रेसका साथीहरुको विशाल पंक्ति यो प्रतिकुल परिणामले समेत विचलित हुने छैन।
कांग्रेस भित्र सुधारको प्रकियाले थप गति लिनु पर्छ, आत्मसमीक्षा गर्दै जनतासँग टुटेको सम्बन्ध थप जोडदै जानु पर्छ।आगामी दिनहरुमा निष्ठा, विनम्रता र कार्यदक्षता युवा नेतृत्वको गहना बनोस र संगठनलाई गुटबन्दीको धमिराबाट मुक्त गर्ने र जनता संग प्रत्यक्ष जोडिने कार्यक्रमले ऊर्जा देओस।असंख्य शुभकामना।
(आचार्यको फेसबुकवालबाट)


