काठमाडौँ: मुलुकको प्रतिष्ठित र पुरानो निर्माण कम्पनी शर्मा एन्ड कम्पनीसँग हाल १९ अर्ब रुपैयाँ बराबरको ठेक्काको काम बाँकी (पेन्डिङ) रहेको छ। सरकारी सडक, पुल, भवन र खानेपानी जस्ता ठूला पूर्वाधार परियोजनाहरूका लागि कम्पनीले यो परिमाणको ठेक्का हात पारेको हो।
पेन्डिङ ठेक्का रकम एक वर्षमा कम्पनीले गरेको एकीकृत कारोबार भन्दा तीन गुणा बढी हो। एक वर्षमा शर्मा एन्ड कम्पनीले छ अर्ब ९८ करोड रुपैयाँ कारोबार गरेको छ।
यस्तै सन् २०२३ मा सात अर्ब ४९ करोड रुपैयाँ कारोबार गरेको थियो। गत वर्षको तुलनामा अघिल्लो वर्ष कारोबार रकम सात प्रतिशत घटेको छ। निर्माण गतिविधि सुस्त भएपछि कारोबार घटेको कम्पनीले जनाएको छ।
सन् २०२२ मा छ अर्ब ६१ करोड र २०२१ मा छ अर्ब ९२ करोड रुपैयाँ कारोबार गरेको थियो। कम्पनीले भवन र मेशिन भाडाबाट पनि आम्दानी गर्दै आएको छ। कम्पनीले १५ अर्ब ४३ करोड रुपैयाँ ऋणको रेटिङ गराएको छ।
शर्माको अर्डर बुकमा रहेका ठूला परियोजनाहरूको कार्यान्वयनको लागि संयुक्त उद्यम (जेभी) साझेदारहरूमा रहेको छ। हालैका वर्षहरूमा नयाँ जेभी परियोजनाहरूको संख्या घटेको छ। तर, शर्माका अधिकांश ठूला परियोजनाहरू जेभी मोडलअन्तर्गत छन्। हालैका वर्षहरूमा निर्माण व्यवसायमा बढ्दो वित्तीय दबाब बढेको छ। जसले गर्दा कम्पनी सञ्चालन र प्रतिष्ठा दुवैमा जोखिममा पर्न सक्छ।
शर्माले हाल सञ्चालन गरिरहेका अधिकांश परियोजनाहरू सार्वजनिक क्षेत्रसँग सम्बन्धित छन्। यद्यपि, सार्वजनिक क्षेत्रको पूँजीगत खर्चमा हालैको मन्दी र सम्झौता भुक्तानी समयसीमा विस्तारित भएकोले सार्वजनिक क्षेत्रका काम गर्ने ठेकेदारहरूको तरलता प्रोफाइलमा दबाब पर्न सक्छ।
कम्पनीको हालैको अर्डर बुकको स्थितिअनुसार धेरै परियोजनाहरू कार्यान्वयनको गति मूल तालिकाको तुलनामा सुस्त छ। सरकारले निर्माणमा रहेका परियोजनाहरूको आवधिक समयसीमा विस्तार गर्दै आएका छ। कार्यान्वयनमा कुनै पनि उल्लेखनीय ढिलाइले कम्पनीलाई बैंक ग्यारेन्टी विस्थापन, कालोसूचीमा पर्ने जोखिमहरू छन्।
शर्मा एण्ड कम्पनी प्राइभेट लिमिटेडको प्रारम्भिक सञ्चालन सन् १९६६ मा राधाकृष्ण शर्माले गरेका हुन्। सन १९८० देखि प्राइभेट लिमिटेड कम्पनीको रूपमा सञ्चालनमा रहेको छ।
कम्पनीको सडक, भवन, पुल, खानेपानी परियोजनाहरू जस्ता विभिन्न क्षेत्रहरूमा बलियो उपस्थिति रहेको छ। शर्मा मुख्यतया पारिवारिक स्वामित्वमा रहेको व्यवसाय हो जसमा अध्यक्ष रमेश शर्माको ६७ प्रतिशत स्वामित्व छ। बाँकी हिस्सेदारी लता बराल शर्मा, सौरभ शर्मा र श्री रमेशप्रसाद सुवेदीको छ।
