विराटनगर- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि कोशी प्रदेश सरकारले अध्यादेशमार्फत बजेट ल्याएको छ। सकरारले ३६ अर्ब २४ करोड ३५ लाख १० हजार रुपैंयाँको अध्यादेश बजेट मुख्यमन्त्री समेत रहेका आर्थिक मामिलामन्त्री हिक्मत कार्कीले वाचन गरी सार्वजनिक गरेका हुन्।
अध्यादेश बजेटमा पुँजीगततर्फ १८ अर्ब २३ करोड ४२ लाख ५२ हजार र चालूतर्फ १४ अर्ब ३९ करोड ६३ लाख ६६ हजार रुपैयाँ विनियोजन गरिएको छ। वित्तीय व्यवस्थाका लागि १ करोड र स्थानीय तहमा वित्तीय हस्तान्तरणतर्फ ३ अर्ब ६० करोड २९ लाख रुपैयाँ विनियोजन गरिएको छ।
आन्तरिक राजस्वबाट ४ अर्ब ५७ करोड ७८ लाख उठाउने, राजस्व बाँडफाँटबाट ११ अर्ब ६४ करोड ८१ लाख प्राप्त हुने र संघीय सरकारबाट ८ अर्ब ७८ करोड ३८ लाख वित्तीय समानीकरण अनुदान, ५ अर्ब ८४ करोड ३२ लाख सशर्त अनुदान, ७३ करोड समपूरक अनुदान, ७६ करोड समपूरक अनुदान आउने बजेटमा उल्लेख छ। यसरी ३२ अर्ब ३४ करोड २९ लाख ५० हजार रुपैयाँ जुटाइएको छ।बाँकी रकम चालु आर्थिक वर्षको नगद मौज्दातबाट पूर्ति गर्ने योजना सरकारको छ।
कोशी प्रदेशसभा सदस्य पूर्वाधार विकास कार्यक्रमका लागि सरकारले १ अर्ब ५० करोड रुपैयाँ विनियोजन गरेको छ। प्रत्यक्ष निर्वाचन जितेका प्रदेशसभा सदस्यले २ करोड रुपैयाँ र समानुपातिक पद्धतिबाट निर्वाचित प्रदेशसभा सदस्यले १ करोड रुपैयाँको योजना छनोट गर्न पाउनेछन्।
बजेटको पूर्णपाठ


