काठमाडौँ: पछिल्ला वर्ष भारतको भन्सार नीतिका कारण नेपाली खाद्य तेल उद्योगहरूले लाभ लिइरहेका छन्। ठूला खाद्य तेल उद्योगहरूको व्यापार पनि बढिरहेको छ। यस्तै अर्बौं रुपैयाँबराबरको खानेतेल भारतमा निर्यात भइरहेको छ। निर्यातको आकार पनि बढिरहेको छ।
यसैबीच निजी लगानीमा कञ्चनपुरको धनगढीमा भागेश्वर रिफाइनरी आयल इन्डस्ट्रिज प्राइभेट लिमिटेड सञ्चालनमा आउने भएको छ। उद्योगको पूर्वाधार निर्माण गर्न ६८ करोड ६० लाख रुपैयाँ लाग्ने अनुमान गरिएको छ।
७० प्रतिशत बैंकको ऋण र बाँकी ३० प्रतिशत संस्थापकको स्वपुँजी (इक्विटी) हुने गरी लगानी संरचना बनाइएको छ। ४८ करोड ऋण र २० करोड रुपैयाँ स्वपुँजी लगानी हुने भएको छ। स्वपुँजी लगानी भए पनि उद्योगमा ऋण व्यवस्थापन हुन बाँकी छ।
हाल उद्योगको कारखाना पूर्वाधार निर्माण प्रारम्भीक चरणमा रहेको छ। कहिलेदेखि तेल उत्पादन थाल्ने भन्ने उद्योगले खुलाएको छैन। उद्योगले सोयाबिन तेल, सूर्यमुखी तेल र पामोलियन तेल उत्पादन गर्नेछ। उद्योगले दैनिक दुई सय टन खानेतेल उत्पादन गर्नेछ।
उद्योग भारत–नेपाल सीमाबाट लगभग १० किलोमिटर टाढा कञ्चनपुरको धनगढीमा अवस्थित छ। विभिन्न देशहरूबाट आयात गरिने कच्चा पदार्थहरू भारतीय बन्दरगाहहरूमा अनलोड हुने भएकाले कारखाना सीमा नजिक हुँदा भाडा लागतमा बचत हुने सकारात्मक पक्ष बनेको छ। यसबाहेक उद्योगले आफ्ना उत्पादनहरू भारतमा पनि निर्यात गर्ने भएको छ।
कच्चा पदार्थको आयात र तयार सामानको निर्यातमा भाडा लागत बचतको सन्दर्भमा कारखानाको भारतीय सीमा नजिक हुनु सकारात्मक पक्ष रहेको छ।
उद्योगका प्रवद्र्धक टेकबहादुर बोगटी रहेका छन्। बोगटीको कृषि, उत्पादन र व्यापार क्षेत्रमा दुई दशकभन्दा बढीको अनुभव छ। जसमा कृषि, खाद्य प्रशोधन, चिनी र डिस्टिलरी उद्योग सञ्चालन गरिरहेका छन्। उनले भागेश्वर सुगर एन्ड केमिकल इन्डष्ट्रिज प्राइभेट लिमिटेड, भागेश्वर एग्रो इन्डस्ट्रिजप्राइभेट लिमिटेड र भागेश्वर फ्लोर मिल प्राइभेट लिमिटेड जस्ता संस्थाहरूलाई सफलतापूर्वक प्रवद्र्धन र नेतृत्व गरेका छन्।
खाने तेल निर्यात वृद्धि मुख्यतया भारतमा भन्सार शुल्क परिवर्तन मुख्य कारण रहेको छ। जसले नेपाली रिफाइनरी उद्योगहरूलाई साफ्टाअन्तर्गत प्राप्त सहुलियतले पुनः निर्यात गर्ने अवसरहरू सिर्जना गरेको छ।
भागेश्वर रिफाइनरी आयल सन् २०२४ मा स्थापना भएको हो।
