काठमाडौं। चालू आर्थिक वर्ष २०८२/०८३ को आठ(साउनदेखि फागुन) महिनामा नेपालले करिब ११ खर्ब रुपैयाँ बराबरको व्यापार घाटा बेहोरेको छ।
भन्सार विभागले सार्वजनिक गरेको तथ्याङ्कअनुसार, फागुन मसान्तसम्मको कुल वैदेशिक व्यापार करिब १४ खर्ब ४० अर्ब रुपैयाँ पुगेको छ। जसमा आयात करिब १२ खर्ब ८९ अर्ब र निर्यात करिब १ खर्ब ९१ अर्ब रुपैयाँ भएको छ।
गत वर्षको सोही अवधिको तुलनामा आयात १२.५४ प्रतिशत र निर्यात २९.८३ प्रतिशत वृद्धि भएको विभागले जनाएको छ। आयातको ठूलो हिस्सा भारत र चीनसँगको व्यापारमा रहेको छ। भारतसँगको व्यापार घाटा पाँच खर्ब ६७ अर्ब रुपैयाँ छ।
यसबीचमा भारतबाट सात खर्ब २४ अर्ब र निर्यात एक खर्ब ५६ अर्ब रुपैयाँ छ। चीनसँगको व्यापारमा पनि दुई खर्ब ७५ अर्ब आयात र ९८ करोड रुपैयाँ निर्यात हुँदा दुई खर्ब ६४ अर्ब घाटा देखिएको छ।
अर्जेन्टिना, संयुक्त अरब इमिरेट्स र इन्डोनेसिया पनि नेपालको व्यापार घाटा हुने मुलुकको सूचीमा अगाडि छन्। यसको विपरीत रोमानिया, नर्वे, आइसल्याण्ड, नाइजर र इराकसँग नेपालले व्यापार नाफा कमाएको छ।
आयातमा पेट्रोलियम पदार्थ सबैभन्दा बढी रहेको छ। पछिल्लो आठ महिनामा डिजेल ८२ अर्ब, पेट्रोल ४३ अर्ब र एलपी ग्यास ३७ अर्ब रुपैयाँ बराबर आयात भएको छ। कच्चा भटमास तेलको आयात ८१ अर्ब रुपैयाँ पुगेको छ। यसबाहेक स्मार्टफोन, फलामजन्य वस्तु, सुन र चाँदी पनि ठूलो आयात वस्तुमा पर्दछन्।
निर्यातमा भटमास तेल शीर्ष स्थानमा छ। यसबीचमा ७५ अर्ब रुपैयाँ बराबरको तेल निर्यात भएको छ। त्यस्तै अलैँची, कार्पेट, सूर्यमुखी तेल र पाम तेल पनि निर्यात भएका मुख्य वस्तु हुन्।


