प्राकृतिक सौन्दर्य र सांस्कृतिक विविधताको अनुपम सङ्गम रहेको नेपालका लागि पर्यटन केवल मनोरञ्जनको क्षेत्र मात्र नभई राष्ट्रिय अर्थतन्त्रको मेरुदण्ड हो। नेपालको पर्यटकीय राजधानी पोखराले सन् २०२५ लाई ‘पोखरा भ्रमण वर्ष’ घोषणा गर्दै १५ लाख पर्यटक भित्र्याउने जुन लक्ष्य लियो, त्यसले समग्र मुलुकको पर्यटन क्षेत्रमा नयाँ रक्तसञ्चार गर्यो।
गण्डकी प्रदेश सरकारको पहलमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेशको समर्थनमा अघि बढाइएको यस भ्रमण वर्ष कार्यक्रममा पोखराको अनुपम प्राकृतिक सौन्दर्य, रोमाञ्चक साहसिक गतिविधि र सांस्कृतिक अनुभवलाई प्रवर्द्धन गर्दै यसलाई अन्तर्राष्ट्रिय स्तरमा थप चिनाउन मद्दत गर्यो।
अहिले नेपालमा आन्तरिक पर्यटनले राम्रो गति लिएको अवस्था छ। बिदामा घुम्न जाने संस्कृति विकास हुँदै गइरहेको छ, जुन पर्यटनका लागि राम्रो संकेत हो। फेसबुक, ट्विटर जस्ता सामाजिक सञ्जालहरूले पर्यटकहरू आकर्षित गर्न ठूलो भूमिका खेलेको देखिन्छ। नेपालमा विभिन्न कारणले गर्दा मारमा परिरहेको पर्यटन क्षेत्रमा केही हदसम्म चहलपहल बढिरहेको देखिन्छ। दशैं तिहारमा पोखरा लगायत देशका विभिन्न प्रमुख सहरहरूमा पर्यटकहरूको आगमनले यस क्षेत्रमा उत्साह जगाएको छ।
सन् २०२४ को तथ्यांकअनुसार फ्रान्सले सबैभन्दा बढी १० करोड २० लाख पर्यटक भित्र्याएको थियो भने त्यसपछि दोस्रो स्थानमा रहेको स्पेनले ९ करोड ३८ लाख, तेस्रो स्थानमा रहेको अमेरिकाले ७ करोड २४ लाख, र चौथो स्थानमा रहेको चीनले ६ करोड ४९ लाख र पाँचौँ स्थानमा रहेको टर्कीले ६ करोड ६ लाख पर्यटक भित्र्याएको थियो। भारतले सोही वर्ष १ करोड ८८ लाख र नेपालले ११ लाख ४७ हजार पर्यटक भित्र्याएको थियो।
फ्रान्सको आइफेल टावर, ड्युन अफ प्याला प्याराग्लाइडिङले पर्यटकहरूलाई आकर्षित गरिरहेको देखिन्छ भने मरुभूमिको देश दुबईले मानव निर्मित बुर्ज खलिफा, दुबई मल, जुमेराह बुर्ज अल अरब, दुबई मिराकल गार्डेन जस्ता मानव निर्मित भौतिक संरचनाले संसारभरका पर्यटकहरूलाई आकर्षित गरिरहेको देखिन्छ। यी सबै देशहरूमा भन्दा नेपालमा उत्कृष्ट मौसम र प्राकृतिक स्थल भएकाले अलिकति पूर्वाधार र प्रवर्द्धनमा खर्च गर्न सकेको खण्डमा नेपालले पर्यटनमा राम्रो गर्ने सम्भावनाहरू छन्। यहाँ फ्रान्सको जर्ज डु भर्डन जस्ता नदीहरू प्रशस्तै छन्। भौगोलिक कारणले फ्रान्समा भएको तर नेपालमा नभएको समुद्र नै हो।
अधिकांश नेपाल घुम्न आउने पर्यटकहरू धार्मिक पर्यटकहरू पशुपतिनाथ, जानकी मन्दिर तथा मुक्तिनाथ, लुम्बिनी जस्ता मन्दिरहरू दर्शन गर्नका लागि, अन्य पर्यटकहरू सगरमाथा, चितवन तथा बर्दिया राष्ट्रिय निकुञ्ज, पोखरा, विभिन्न पैदल मार्गहरू घुम्न आउने गरेको पाइन्छ।
पछिल्ला केही वर्षमा चीनले सूचना प्रविधि र पूर्वाधारको क्षेत्रमा चमत्कार नै गरेको छ। पूर्वाधार क्षेत्रमा त चीनले अमेरिका लगायत अन्य शक्तिशाली राष्ट्रहरूलाई समेत चकित तुल्याइदिएको छ। चीनले निर्माण गरेको द ग्रेट वालदेखि, फरबिडन सिटी, द बण्ड इन सांघाई जस्ता संसारकै उत्कृष्टमध्येका शहरहरूले लाखौं पर्यटकहरूलाई आकर्षित गर्न सफल भएका छन् भने ली नदी, येलो माउन्टेनलाई पर्यटकीय स्थल बनाएझैं नेपालमा पनि विभिन्न स्थानहरूलाई प्रवर्द्धन गरेर पर्यटकहरू भित्र्याउन सकिने प्रशस्त सम्भावना रहेको छ।
नेपालमा घुम्न आउने पर्यटकहरू सरदर १२ दिन बस्ने गरेको देखिन्छ। पूर्वाधारहरूको विकास गरेर पर्यटकको संख्या वृद्धि गर्ने र उनीहरूको बसाइ लम्ब्याउन सकेमा लाखौं बेरोजगार नेपालीहरूले रोजगार र स्वरोजगार पाई देशको आर्थिक विकासमा महत्वपूर्ण भूमिका खेल्न सक्छन्। पर्यटनले खाली पर्यटन व्यवसायीहरूको मात्र हित गर्दैन, यसले त सारा अर्थतन्त्रसँग सम्बन्धित क्षेत्र जस्तै कृषि, उद्योग, बैंक तथा वित्तीय संस्थाहरूलाई प्रभाव पार्दछ। पर्यटकहरूको आगमन तथा बसाइ वृद्धि भएमा सोका लागि पर्यटन क्षेत्रमा जनशक्तिको आवश्यकता वृद्धि भई प्रत्यक्ष रोजगारी वृद्धि हुन्छ भने उनीहरूलाई आवश्यक पर्ने खाद्यान्न तथा तरकारीहरू स्थानीय स्तरमा माग वृद्धि भई कृषि क्षेत्रमा पनि अप्रत्यक्ष रोजगार तथा सकारात्मक वृद्धि हुन्छ।
नेपालका होटलहरूको सेवाले अन्तर्राष्ट्रिय स्तरको सुविधा दिन सक्षम छन्। तर ती होटलहरूमा पकाइने खानेकुराका खाद्य वस्तुहरू, मासु तथा तरकारीहरू विदेशबाट नै मगाउनुपर्ने अवस्था छ। नेपालमा आउने अन्तर्राष्ट्रिय पर्यटकहरूलाई नेपालमै उत्पादित माछा–मासु तथा परिकारहरू खुवाएर नेपाली भोजनको स्वादमा लोभ्याउन सकियो भने खाना पर्यटनले पनि पर्यटन उद्योगमा ठूलो टेवा दिन सक्छ र नेपाली उत्पादनको माग वृद्धि गरी रोजगार विकासमा मद्दत गर्न सक्छ, फलस्वरूप देशको अर्थतन्त्रमा सकारात्मक प्रभाव पार्न मद्दत गर्न सक्छ।
खाना पर्यटनका लागि फ्रान्स संसारभरमा सबैभन्दा अगाडि छ। फ्रान्समा त्यहाँको स्थानीय खाना तथा वाइन पिउनका लागि संसारभरबाट मानिसहरू आउने गर्छन्। स्थानीय खाना मार्फत पर्यटक आकर्षित गर्न आयरल्याण्ड, फिलिपिन्स, क्यानाडा जस्ता देशहरूले विशेष महत्व दिइरहेका छन् भने लण्डन, पेरिस, न्यूयोर्क, बर्लिन, म्याड्रिड, क्वालालम्पुर, बार्सिलोना, लिस्बन, रोम जस्ता संसारका मुख्य सहरहरूमा खाना पर्यटनमार्फत पर्यटनमा राम्रो विकास भइरहेको छ।
हालसालै गरिएको अध्ययनअनुसार संसारमा मुख्य भ्रमण गरिने पर्यटकीय स्थलहरूमध्ये फ्रान्सको आइफेल टावर, द ग्रेट वाल अफ चाइना, ताजमहल भारत, कोलोसियम इटली, माचु पिचु पेरु, सिड्नी ओपेरा हाउस, स्यान्टोरिनी ग्रिस, पेट्रा जोर्डन र नियाग्रा फल्स अमेरिका आदि पर्दछन्।
सन् २०२४ मा जापानले ४७ प्रतिशत पर्यटक वृद्धि गर्न सफल भएको छ। जापानले यो सफलता प्राप्त गर्नुमा मुद्रालाई अवमूल्यन गरेर पर्यटकहरूलाई सस्तोमा प्याकेजहरू अफर गरिएको थियो भने हवाईमार्गको विस्तार गरेर विभिन्न देशका पर्यटकहरूसँगको पहुँच विस्तार गरी भिसा तथा अन्य कार्यहरू सहज बनाइएको थियो। त्यसैगरी साउदी अरबले ७३ प्रतिशतको वृद्धि गरेको थियो। साउदीको यो सफलता प्राप्त गर्नका लागि त्यहाँको सरकारले तेलमा आधारित अर्थतन्त्रबाट पर्यटन र अन्य क्षेत्रमा प्राथमिकतामा राखेर विभिन्न खालका कार्यक्रमहरू ल्याएको थियो। केही वर्षअघि पराग्वे र ताजिकिस्तानले पनि पर्यटनलाई प्राथमिकता दिएर पर्यटकहरू ठूलो मात्रामा वृद्धि गर्न सफल भएका थिए।
सन् २०११, २०१२ सम्म कुल ग्राहस्थ उत्पादन वृद्धि दर (जीडीपी) नकारात्मक रहेको पराग्वेको अर्थतन्त्र अहिले सकारात्मक हुँदै ५ प्रतिशतको आर्थिक वृद्धि हासिल गर्न सफल भइसकेको छ र यसको लागि पर्यटनले मुख्य योगदान दिएको छ। पराग्वेले देशको राम्रो मौसम, सफा सडक, ठाउँठाउँमा राम्रो सुरक्षा व्यवस्था, राम्रो बस यात्रा सुविधा, यात्रामा विभिन्न खालका सांस्कृतिक कार्यक्रमहरू देखाउने व्यवस्था गर्नाले पर्यटकहरूलाई आकर्षित गर्न सफल भएको छ।
साउदी अरबले रमजान (मुस्लिमहरूको पर्व) मा करोडौं धार्मिक पर्यटकहरू भित्र्याउँछ, त्यसरी नै भारतले पनि विभिन्न धार्मिक स्थलहरूमा लाखौं पर्यटकहरू भित्र्याउँछ। त्यसैगरी दक्षिण कोरिया, श्रीलंका जस्ता देशहरूले पनि वर्षेनी लाखौँ धार्मिक पर्यटकहरू भित्र्याएर देशको अर्थव्यवस्थामा ठूलो योगदान दिँदै आएका छन्।
हिन्दूको ठूलो जनसंख्या र गौतम बुद्धको जन्मस्थल नेपालमा धार्मिक पर्यटनको ठूलो सम्भावना देखिन्छ। जसरी मुस्लिमहरू जिन्दगीमा एकपटक मक्काको दर्शन गर्नैपर्छ भन्ने भावना र विश्वास छ, त्यसैगरी हिन्दु धर्मावलम्बीहरूमा पशुपतिनाथ, मुक्तिनाथ, व्यासलगायत मन्दिरहरूको दर्शन गर्नका लागि प्रेरित गर्न धार्मिक पर्यटन सम्बन्धी कार्यक्रमहरू गर्ने र संसारभरका बौद्ध धर्मावलम्बीहरूलाई गौतम बुद्ध जन्मेको पवित्र स्थल लुम्बिनी भ्रमण गर्नका लागि कार्यक्रमहरू ल्याई पर्यटनको विकास गर्न सकियो भने पर्यटन उद्योग फस्टाई देश विकासमा फड्को मार्न सक्छ। त्यसैगरी यस क्षेत्रको विकासका लागि नेपालका विभिन्न सम्पदाहरूको संरक्षण र प्रवर्द्धन गरेर पर्यटकहरूलाई आकर्षित गर्नेतर्फ सबैले ध्यान दिनु जरुरी छ। सम्पूर्ण नेपालीले पर्यटनमा मन बनाउनुपर्छ भने पोखराले त्यसको सधैं नेतृत्व लिनुपर्छ, नेपाली मन, पर्यटन। जय पर्यटन।


