दाङ- आगामी आर्थिक वर्ष २०८०/८१ का लागि लुम्बिनी प्रदेश सरकारले ४० अर्ब ४७ करोड रुपैयाँको बढीको बजेट ल्याएको छ । प्रदेशका आर्थिक मामिलामन्त्री धनबहादुर मास्कीले शुक्रबार प्रदेशसभामा ४० अर्ब ४७ करोड ९७ लाखको बजेट पेस गरेका हुन्।
बजेटमा १५ अर्ब ६३ करोड ३० लाख ९९ हजार चालु खर्च विनियोजन गरिएको छ। यो कुल बजेटको ३३ प्रतिशतभन्दा बढी हो। प्रदेश सरकारले पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख १ हजार विनियोजन गरेको छ। कुल बजेटको ५७.४५ प्रतिशत पुँजीगत तर्फ छुट्याइएको छ। स्थानीय तहका लागि ३ अर्ब ५८ करोड ९७ लाख अर्थात ८.८७ प्रशितत विनियोजन गरिएको छ।
बजेटले ६ अर्ब ७३ करोड ५१ लाख आन्तरिक राजस्व उठाउने लक्ष्य राखेको छ। संघीय सरकार राजस्व बाँडफाँटबाट ११ अर्ब ३१ करोड ७४ लाख प्राप्त हुने उल्लेख छ। स्थानीय तहबाट राजश्व बाँडफाँटबाट प्राप्त हुने २ अर्ब ५० करोड ३० लाख प्राप्त हुने अनुमान बजेटको छ।
संघीय सरकारबाट ८ अर्ब १४ करोड ८३ लाख वित्तीय समानीकरण अनुदान आउने उल्लेख गरेको बजेटले ५ अर्ब ८३ करोड ५९ लाख सशर्त अनुदान आउने उल्लेख गरेको छ। यस्तै समपूरक (पुँजीगत) अनुदानबाट ८४ करोड र विशेष अनुदानबाट ५६ करोड प्राप्त हुने बजेटले उल्लेख गरेको छ।


