काठमाडौं। चालू आर्थिक वर्षको आठ महिनामा विदेशी विनिमय सञ्चिति साढे २७ प्रतिशत बढेको छ। गत फागुनसम्म विदेशी विनिमय सञ्चिती ३४ खर्ब १३ अर्ब ७७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ। गत असार मसान्तमा यस्तो सञ्चिती २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा फागुन मसान्तमा १८.३ प्रतिशत वृद्धि भई २३ अर्ब ८ करोड पुगेको छ।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रहेकोमा गत फागुन मसान्तमा २५.७ प्रतिशत वृद्धि भई ३० खर्ब ३५ अर्ब ११ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रहेकोमा फागुन मसान्तमा ४४ प्रतिशत वद्धि भई तीन खर्ब ७८ अर्ब ६६ करोड रुपैयाँ कायम भएको छ।
फागुन मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१ प्रतिशत रहेको छ। आर्थिक वर्ष २०८२/०८३ को आठ महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २१.४ महिनाको वस्तु आयात र १८.५ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने राष्ट्र बैंकले जनाएको छ।
२०८२ फागुन मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन(जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ५५.९, १५३.८ र ४०.८ प्रतिशत रहेका छन्।


