काठमाडौँ: भन्सार विभागले चालू आर्थिक वर्ष २०८२/८३ को पहिलो ९ महिनाको तथ्यांक सार्वजनिक गरेको छ। सार्वजनिक तथ्यांकअनुसार साउनदेखि चैतसम्म १७ खर्ब १३ अर्बको वैदेशिक व्यापार गरेको छ। जसमा आयात र निर्यात दुवै बढेको छ।
विभागको तथ्यांकअनुसार यस अवधिमा १४ खर्ब ९० अर्ब रुपैयाँको मालवस्तु नेपालले आयात गरेको छ। जुन अघिल्लो आवको यसै अवधिको तुलनामा १३.८२ प्रतिशतले बढी हो। अघिल्लो आवमा चैतसम्ममा १३ खर्ब ९ अर्ब रुपैयाँको सामान आयात भएको थियो।
यस्तै यस अवधिमा निर्यात १८.४६ प्रतिशतले बढेको छ। गत आवको पहिलो ९ महिनामा १ खर्ब ८८ अर्ब रुपैयाँको मालवस्तु निर्यात भएकोमा चालु आवको साउनदेखि चैत मसान्तसम्ममा २ खर्ब २२ अर्बको सामान निर्यात भएको छ।
यस अवधिमा व्यापार घाटा १३.0४ प्रतिशतले बढेको छ। अघिल्लो आवको पहिलो ९ महिनामा ११ खर्ब २१ अर्ब रुपैयाँ व्यापार घाटा रहेकोमा चालु आवको ९ महिनामा नेपालले १२ खर्ब ६७ अर्ब रुपैयाँको व्यापार घाटा बेहोरेको छ।
यस अवधिमा नेपालले चीनबाट ३ खर्ब ७१ करोड रुपैयाँ सामान आयात गरेकोमा १ अर्ब १९ करोड रुपैयाँको सामान मात्रै उक्त देशमा पठाएको छ भने सबैभन्दा ज्यादा व्यापार घाटा रहेको भारतबाट ८ खर्ब ४७ करोड रुपैयाँको सामान आयात भएको छ। उक्त देशमा १ खर्ब ८३ अर्ब रुपैयाँको सामान निर्यात भएकोमा व्यापार घाटा ६ खर्ब ६३ अर्ब रुपैयाँ रहेको छ।


