काठमाडौँ: दक्षिण एसियाली स्वतन्त्र व्यापार सम्झौता (साफ्टा) अन्तर्गत भारतले सहुलियत दिएपछि नेपाली खानेतेल उद्योगहरूको व्यापारमा चमक आएको छ। एक वर्षमा उद्योगहरूले अर्बौं रुपैयाँको खानेतेल भारतमा निर्यात गरेका छन्।
यस्तै व्यावसायिक घराना आरएमसी ग्रुपले सञ्चालन गरिरहेको आरएमसी फुड प्रालिको खानेतेल व्यापार २७२ प्रतिशत बढेर १७ अर्ब ६९ करोड ८० लाख रुपैयाँ पुगेको छ। सन् २०२४ मा उद्योगले चार अर्ब ७६ करोड रुपैयाँको मात्र तेल व्यापार गरेको थियो।
एक वर्षको अवधिमा आरएमसी फुडको खानेतेल व्यापार १२ अर्ब ९३ करोड ८० लाख रुपैयाँ व्यापार बढेको सार्वजनिक गरिएको वित्तीय विवरणमा उल्लेख छ।
चालू आथिृक वर्षमा उद्योगको तेल व्यापार अझै बढ्दै भएको छ। छ महिनामा उद्योगले १२ अर्ब ३९ करोड ५० लाख रुपैयाँबराबरको खानेतेल व्यापार गरेको छ। यो हिसावले हेर्दा यो वर्ष २४ अर्ब रुपैयाँ पुग्ने सम्भावना प्रचूर छ। २०२३ मा चार अर्ब १३ करोड रुपैयाँबराबरको खानेतेल व्यापार गरेको थियो।
भारतले साफ्टाअन्तर्गत दिएको सहुलियतको लाभ नेपाली उद्योगीले पाएका छन्। गत वर्ष मात्रै उद्योगले १० अर्ब ४१ करोड ८० लाख रुपैयाँबराबरको खानेतेल भारतमा निर्यात गरेको छ। अघिल्लो वर्ष १६ करोड ४० लाख रुपैयाँ मात्र थियो। कूल व्यापारको ६२ प्रतिशत हिस्सा भारत निर्यातको रहेको छ। उद्योगको मार्जिन ११ प्रतिशत माथि रहेको छ।
कच्चा पदार्थको मूल्य अस्थिरताको सामना गर्नुपरेको छ। किनकि यसको प्राथमिक कच्चा वस्तु आयात हुने गरेको छ, जसले नाफामा असर गर्छ। अमेरिकी डलरको मूल्यमा हुने उतारचढावले पनि उद्योगलाई विदेशी मुद्रा जोखिममा पनि पार्ने गरेको छ।
गत वर्ष आरएमसीले छ करोड २० लाख र चालू वर्षको छ महिनामा बढेर नौ करोड २० लाख रुपैयाँबराबरको विदेशी मुद्रा घाटा व्योहरेको जानकारी दिएको छ।
कृषिमा आधारित वस्तु कच्चा खाद्य तेल मौसमी हुन्छ र मौसम अवस्था, बाली उत्पादन र कीराहरूबाट प्रभावित हुन्छ।
उद्योगले प्रशोधित तेल, राइस ब्रान आयल, वनस्पति घिउ, एसिड आयल, चामल, दाल, बेकरी सर्टनिङ र फ्याट स्प्रेड, तेलको उत्पादन तथा प्रशोधन गर्दै आएको छ। उद्योग बाराको जीतपुरमा छ।
यो वीरगञ्ज भन्सारबाट ३० किलोमिटर दूरीमा छ। उद्योगको रिफाइन्ड तेल उत्पादन क्षमता वार्षिक ९० हजार टन छ। उद्योगले ‘न्यूट्रिप्लस’ ब्राण्डमा तेल बिक्री गर्र्दै आएको छ। उद्योगको सञ्चालकमा राजेशकुमार अग्रवाल र विष्णुकुमार अग्रवाल रहेका छन्। दुबैको उद्योगमा ४५ ४५ प्रतिशत हिस्सा रहेको छ। आरएमसी फुड सन् २०२१ मा स्थापना भएको हो।
उद्योगले ११ अर्ब ६४ करोड ३० लाख रुपैयाँ ऋणको रेटिङ गराएको छ।
