विराटनगर। कोसी प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३०८४ को बजेट निर्माण प्रक्रियालाई तीव्र बनाएको छ। आर्थिक मामिला तथा योजना मन्त्री विदुरकुमार लिंथेपले बजेट तयारी भइरहेको जानकारी दिँदै यस पटक योजनाबद्ध र परिणाममुखी बजेट ल्याउने तयारी भइरहेको बताएका छन्।
मन्त्री लिंथेपले बजेट निर्माणका क्रममा विज्ञहरूसँग निरन्तर छलफल भइरहेको उल्लेख गरे। उनका अनुसार प्रदेशको समग्र आर्थिक अवस्था, विकासका प्राथमिकता र दीर्घकालीन प्रभावलाई ध्यानमा राखेर बजेटको ढाँचा तयार पारिँदै छ।
यस पटकको बजेटमा ‘आयोजना बैंक’मा समावेश भएका योजनाहरूलाई मात्र प्राथमिकता दिने स्पष्ट नीति लिइएको मन्त्री लिंथेपले बताए। विगतमा जथाभाबी योजना समावेश गर्दा कार्यान्वयनमा समस्या आएको अनुभवका आधारमा यो निर्णय गरिएको उनको भनाइ छ।
चालू आर्थिक वर्षको बजेट कार्यान्वयन सन्तोषजनक हुन नसकेको स्वीकार गर्दै मन्त्री लिंथेपले ‘जेनजी आन्दोलन’ लगायत विभिन्न कारणले विकास आयोजनामा असर परेको बताए।
प्रदेश सरकार आगामी बजेटमार्फत आर्थिक अनुशासन कायम गर्दै विकासको गति तीव्र बनाउने लक्ष्यमा केन्द्रित देखिएको छ। योजनाको छनोटदेखि कार्यान्वयनसम्म स्पष्ट मापदण्ड अपनाउने तयारीले यस पटकको बजेट विगतभन्दा प्रभावकारी हुने अपेक्षा गरिएको छ।


