काठमाडौं। सरकारले आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल हुने दाबी गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक रूपान्तरणका चार संवाहक क्षेत्र उल्लेख गर्दै आगामी आर्थिक वर्षदेखि औसत सात प्रतिशत आर्थिक वृद्धि हासिल गर्दै पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय तीन हजार अमेरिकी डलर नाघ्ने नेपाललको वर्तमान आर्थिक स्थितीपत्रमा उल्लेख गरेका छन्।
यसबीचमा अर्थतन्त्रको आकार सय अर्ब अमेरिकी डलर नजिक पुर्याई नेपाललाई सम्मानजनक मध्यम आय भएको मुलुक बनाउने लक्ष्य लिएको आर्थिक स्थितीपत्रमा उल्लेख गरिएको छ।
विद्युत उत्पादनमा कुल जडित क्षमता आगामी पाँच वर्षभित्र १५ हजार मेगावाटसम्म पुर्याउने, राष्ट्रिय गौरवका महत्वपूर्ण आयोजनाहरूको निर्माण कार्य आगामी दुई वर्षभित्र सम्पन्न गर्ने, रणनीतिक महत्वका नयाँ आयोजनाहरू विकास गर्नेलगायतका पूर्वाधार विकासबाट निजी लगानीसमेत आकर्षित भई आर्थिक वृद्धिमा तीव्रता आउने स्थितीपत्रमा उल्लेख छ।
कृषिको आधुनिकीकरण र व्यवसायीकरण गर्दै उद्योग र पर्यटनसँग दरिलो अन्तरआवद्धतामार्फत उत्पादनमूलक रोजगारी अभिवृद्धि हुने, पर्यटन क्षेत्रमा गुणस्तरीय पूर्वाधार विकास र पर्यटकीय सेवा तथा आवागमनमा सहजतामार्फत रोजगारी र आय अभिवृद्धि हुने स्थितीपत्रमा औंल्याइएको छ।
यसैगरी कृत्रिम बौद्धिकता उपयोगसहितको सूचना तथा प्रविधिको उपयोग र डिजिटल अर्थतन्त्र निर्माणबाट उत्पादन, उत्पादकत्व, रोजगारी र निर्यात अभिवृद्धि हुने स्थितीपत्रमा उल्लेख छ।


