काठमाडौं। अर्थतन्त्रको आकार विस्तार भए पनि प्रतिव्यक्ति आम्दानी कम भएको छ। चालू आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी १५ सय १३ अमेरिकी डलर हुने प्रारम्भिक अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १५ सय १६ डलर हुने संशोधित अनुमान गरिएको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन १४ सय ५६ डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन आर्थिक वर्ष २०८१/०८२ मा भन्दा आर्थिक वर्ष २०८२/०८३ मा कम हुन गएको अनुमान रहेको छ।
यस्तै चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५ सय ३५ डलर हुने प्रारम्भिक अनुमान गरिएको छ। आर्थिक वर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १५ सय ३५ डलर रहने संशोधित अनुमान गरिएको छ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय आय १४ सय ८० डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धिले प्रतिव्यक्ति कुल राष्ट्रिय आय आर्थिक वर्ष २०८१/०८२ मा र आर्थिक वर्ष २०८२/०८३ मा बराबर रहन गएको अनुमान रहेको छ।
प्रतिव्यक्ति खर्च आम्दानी बढ्यो
चालू आर्थिक वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आम्दानी भने बढेको छ। खर्चयोग्य आम्दानी बढेर दुई हजार ४४ डलर हुने राष्ट्रिय तथ्यांक कार्यालयको प्रारम्भिक अनुमान छ।
आर्थिक वर्ष २०८१/०८२ मा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १९ सय ९४ डलर रहने संशोधित अनुमान गरिएको छ। रेमिट्यान् आप्रवाह बढेका कारण खर्चयोग्य आम्दानी बढेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ।
आर्थिक वर्ष २०८०/०८१ को तथ्यांकअनुसार उक्त वर्षमा प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय १८ सय ७७ डलर कायम भएको छ। डलरको सटहीदरमा भएको उच्च वृद्धि भए तापनि प्रतिव्यक्ति कुल राष्ट्रिय खर्चयोग्य आय क्रमशः बढ्नुको कारण विप्रेषणको उच्च प्राप्ति भएको अनुमान रहेको छ।


