काठमाडौँ: चक्रपथ विस्तारअन्तर्गत चीनसँग दोस्रो चरणको सम्झौता भएको छ। बुधबार बिहान भौतिक पूर्वाधार, यातायात तथा शहरी विकास मन्त्री सुनील लम्साल र नेपालका लागि चिनियाँ राजदूत झांग माओमिंगबीच दोस्रो चरणअन्तर्गत चीनको सहायतासम्बन्धी सम्झौता भएको हो।
सम्झौताअनुसार चक्रपथ विस्तारका लागि चीन सरकारले करिब ११ अर्ब रुपैयाँ अनुदान उपलब्ध गराउनेछ। यसक्रममा ८.२ किलोमिटरमा सडक तथा पुल निर्माण हुनेछन्।
२०७५ मा कलंकीदेखि महाराजगञ्जसम्म दोस्रो चरणमा चक्रपथ विस्तार गर्नेगरी चीनसँग सम्झौता भएको थियो। दुई देशका प्रतिनिधिबीच सडक विस्तारमा सहयोगसम्बन्धी पत्रमा हस्ताक्षर गरिए पनि ता भएको लामो समय बितिसक्दा थप काम अघि बढ्न सकेको थिएन।
पहिलो चरणमा कलंकीदेखि कोटेश्वरसम्मको १० दशमलव ३९ किलोमिटर ८ लेनको बनाइएको थियो। जसमा १९७० को दशकमा रोपिएका १२०० भन्दा धेरै रुखहरु काटिएका थिए। सोही परियोजनाअन्तर्गत कलंकीमा अन्डरपास निर्माण समेत भएको थियो।
बुधबार दोस्रो चरणको सम्झौतापश्चात् मन्त्री लम्सालले परियोजना कार्यान्वयनका क्रममा देखिने समस्या एक दिनमै समाधान गर्दै आवश्यक सहजीकरण गरिने प्रतिबद्धता व्यक्त गरे। उनले उत्तर–दक्षिण सडक सञ्जाल विकास सरकारको प्राथमिकतामा रहेको उल्लेख गर्दै पूर्वाधार क्षेत्रमा चीनबाट थप लगानीको अपेक्षा पनि व्यक्त गरे।
राजदूत माओमिंगले उपयुक्त लगानी वातावरण बनेमा चिनियाँ लगानीकर्ताहरू नेपालमा लगानी गर्न इच्छुक रहेको बताए।


