काठमाडौँः सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले विवादस्पद व्यवसायी दीपक भट्टसँग सम्बन्धित बीमा कम्पनीहरूमा लगानी गर्ने संस्थापक शेयरधनीसँग अतिरिक्त प्रिमियम रकमको विस्तृत विवरण माग गरेको छ।
विभागले सूचना जारी गर्दै अनुसन्धानको सिलसिलामा आवश्यक अध्ययनका लागि यस्तो जानकारी संकलन गर्न लागिएको जनाएको हो।
विभागका अनुसार विभिन्न ८ वटा बीमा कम्पनी—नेपाल माइक्रो इन्स्योरेन्स लिमिटेड, गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, लिबर्टी माइक्रो लाइफ इन्स्योरेन्स लिमिटेड, प्रोटेक्टिभ इन्स्योरेन्स लिमिटेड, स्टार माइक्रो इन्स्योरेन्स लिमिटेड, ट्रस्ट माइक्रो इन्स्योरेन्स लिमिटेड र हिमालयन रिइन्स्योरेन्स लिमिटेडका संस्थापक शेयरधनीहरूलाई लक्षित गर्दै विवरण माग गरिएको हो।
संस्थापकहरूले कम्पनीमा आधिकारिक रूपमा बुझाएको रकमबाहेक प्रिमियम शीर्षकमा थप रकम बुझाएको भए त्यसको स्पष्ट जानकारी दिनुपर्नेछ। विशेषगरी, उक्त रकम कुन व्यक्ति वा संस्थाको नाममा, कुन बैंक खातामा र कति रकमका रूपमा जम्मा गरिएको हो भन्ने विवरण स्पष्ट रूपमा पेश गर्न विभागले निर्देशन दिएको छ।
विभागले माग गरेको विवरणमा कुनै अस्पष्टता नराखी आवश्यक कागजातसहित १५ दिनभित्र कार्यालयमा बुझाउन आग्रह गरिएको छ। समयसीमाभित्र विवरण पेश नगरेमा थप कानुनी प्रक्रिया अघि बढ्न सक्ने संकेत पनि गरिएको छ।
यो कदम वित्तीय पारदर्शिता कायम गर्ने, अवैध धन प्रवाह नियन्त्रण गर्ने तथा बीमा क्षेत्रमा सम्भावित अनियमितता पहिचान गर्ने उद्देश्यले चालिएको मानिएको छ। सेयर कारोबारलाई लिएर भट्ट, नेपाल उद्योग वाणिज्य महासंघका पूर्वअध्यक्ष शेखर गोल्छ अहिले प्रहरी हिरासतमा छन्।


