काठमाडौँ: सरकारले सामाजिक सुरक्षा कोष, कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषलाई धितोपत्र बजारका नयाँ औजारमा लगानी गर्न कानुनी रूपमा बाटो खुला गरेको छ।
राष्ट्रपति रामचन्द्र पौडेलद्वारा जारी अध्यादेशमार्फत सम्बन्धित ऐनहरू संशोधन भएपछि यी संस्थाहरूले अब म्युचुअल फण्डसँगै प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल फण्डमा समेत लगानी गर्न सक्ने भएका छन्।
यसअघि सीमित क्षेत्रभित्र मात्रै लगानी गर्न पाउने व्यवस्था रहेकोमा संशोधनपछि धितोपत्र बोर्डबाट स्वीकृत विभिन्न फण्डका इकाइमा लगानी गर्ने अधिकार विस्तार गरिएको हो। नागरिक लगानी कोषले पहिले बैंक, वित्तीय संस्था र बीमा कम्पनीका सेयरमा मात्र लगानी गर्न पाउँथ्यो भने अब उसले वैकल्पिक लगानी उपकरणतर्फ पनि कदम चाल्न सक्नेछ।
त्यस्तै कर्मचारी सञ्चय कोष र योगदानमा आधारित सामाजिक सुरक्षा कोषका लागि पनि लगानीको दायरा फराकिलो बनाइएको छ। यी निकायहरूलाई पहिले म्युचुअल फण्डसम्म सीमित गरिएकोमा अब प्राइभेट इक्विटी र भेञ्चर क्यापिटल जस्ता उच्च सम्भावनायुक्त क्षेत्रतर्फ लगानी गर्न कानुनी अवरोध हटाइएको छ।


