काठमाडौँः समस्याग्रस्त सहकारी व्यवस्थापन समिति ले समस्याग्रस्त घोषित सहकारी संस्थाका ठूला ऋणीहरूको नाम सार्वजनिक गर्न सुरु गरेको छ। समितिका अनुसार बुधबार समस्याग्रस्त घोषित १० वटा सहकारीका ठूला ऋणीहरूको विवरण सार्वजनिक गरिएको हो।
समितिले अन्य समस्याग्रस्त सहकारीका ठूला ऋणीहरूको नामसमेत क्रमशः सार्वजनिक गरिने जनाएको छ। जारी सूचनामा सम्बन्धित ऋणीहरूलाई यथाशीघ्र समितिको कार्यालयमा सम्पर्क गरी ऋण चुक्ता गर्न आग्रह गरिएको छ।
समितिले समयमै ऋण नतिरे कानुनबमोजिम असुली प्रक्रिया अघि बढाइने चेतावनी दिएको छ। साथै, अन्य ऋणीहरूको नामावली पनि क्रमिक रूपमा सार्वजनिक गरिने भएकाले सम्बन्धित सबैलाई कार्यालयमा सम्पर्क गरी बक्यौता तिर्न आग्रह गरिएको छ।
बुधबार सार्वजनिक गरिएका सहकारीहरूमा घेदुङ बहुउद्देश्यीय सहकारी संस्था, हाम्रो सगरमाथा बहुउद्देश्यीय सहकारी संस्था, तपाईं हाम्रो बहुउद्देश्यीय सहकारी संस्था, नागरिक कल्याण बहुउद्देश्यीय सहकारी संस्था, आइडियल यमुना बहुउद्देश्यीय सहकारी संस्था, तुलसी बहुउद्देश्यीय सहकारी संस्था, नेपाल वित्तीय सहकारी संस्था, ओरियन्टल कोअपरेटिभ सहकारी संस्था, गौतमश्री सहकारी संस्था र नेपाल सहकारी वित्तीय संस्था रहेका छन्।
