रौतहट। मुग्लिन–नारायणगढ सडक खण्डअन्तर्गत इच्छा कामना गाउँपालिका–५ स्थित तुइनखोला नजिकै आज बिहान खसेको सुख्खा पहिरो पन्छाएपछि सडक दुवैतर्फ सुचारु भएको छ।
बिहानै माथिबाट एक्कासि ढुङ्गासहितको ठुलो पहिरो खसेपछि यो व्यस्त सडक खण्ड पूर्ण रूपमा अवरुद्ध भएको थियो। सडकमा पहिरो थुप्रिएपछि गन्तव्यतर्फ गुडिरहेका सवारी साधनबीच बाटोमै रोकिएका थिए, जसका कारण यात्रीहरूले सास्ती खेप्नुपरेको थियो।
सडक डिभिजन कार्यालय भरतपुरका साइट सुपरभाइजर ईश्वर क्षेत्रीका अनुसार, पहिरो जानसाथ आवश्यक हेभी इक्विपमेन्ट र मेशिनहरू परिचालन गरिएको थियो। निरन्तरको प्रयासपछि सडकमा थुप्रिएको पहिरो हटाएर आवागमन पुनः सञ्चालनमा ल्याइएको हो ।
हाल सडक खुलेर सवारी साधनहरू आफ्नो गन्तव्यतर्फ लाग्न थालेका छन्। यद्यपि, सो क्षेत्रको भौगोलिक बनावटका कारण बेलाबेला सुख्खा पहिरो खस्ने जोखिम कायमै रहने हुनाले उक्त सडक खण्ड भएर यात्रा गर्ने चालक तथा यात्रीहरूलाई उच्च सावधानी अपनाउन सडक विभाग र स्थानीय प्रशासनले आग्रह गरेको छ।


