काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा १० महिने अवधिमा करिब साढे २२ हजार उजुरी परेका छन्। आइतबार राष्ट्रिय सभाको राष्ट्रिय सरोकार तथा समिति बैठकमा हाजिर भएका अख्तियारका सचिव रामेश्वर दंगालले आर्थिक वर्ष २०७९/८० को वैशाख मसान्तसम्म २२ हजार ३५५ उजुरी परेको जानकारी दिएका हुन्।
तीमध्ये करिब आधा अर्थात् १२ हजार ५९२ उजुरी मात्रै फस्र्योट भएको उनले बताए। २३० वटा मुद्दामा पुनरावेदन गराएको अख्तियारले जनाएको छ।
२०७९/८० मा जम्मा ३०.७ प्रतिशत कसुर स्थापित भएको उनले समिति सदस्यसमक्ष तथ्यांक प्रस्तुत गरे। सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८८.२४ प्रतिशत कसुर स्थापित भएको सचिव दंगालको भनाइ छ।
प्रतिशतका हिसाबले सबैभन्दा बढी उजुरी फस्र्योट २०७८/७९ मा ७०.५६ प्रतिशत र सबैभन्दा कम २०७९/८० मा ५६.३३ प्रतिशत मात्रै भएको छ।
२०७४/७५ मा १९४८८, २०७५/७६ मा २४०८५, २०७६/७७ मा २५१५२, २०७७/७८ मा २२६२५ र २०७८\७९ मा २४३३१ उजुरी दर्ता भएको सचिव दंगालले विवरण पेस गरे।


