काठमाडौँः काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय ले पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकाका विभिन्न स्थानमा सञ्चालन गरेको ट्राफिक जाँचका क्रममा २ हजार २१२ जना सवारी चालकलाई कारबाही गरेको छ। उक्त कारबाहीबाट २७ लाख ५७ हजार रुपैयाँ राजस्व सङ्कलन भएको प्रहरीले जनाएको छ।
आज बिहानसम्म गरिएको जाँचका क्रममा मादक पदार्थ सेवन (मापसे) गरी सवारी चलाउने ८३ जना, राइड सेयरिङमा संलग्न १७९ जना, रातोबत्ती उल्लङ्घन गर्ने १३१ जना, तीव्र गतिमा सवारी चलाउने १३९ जना, लेन मिच्ने ९२ जना, फुटपाथ प्रयोग गर्ने १०७ जना, हर्न निषेध उल्लङ्घन गर्ने १२४ जना, एकतर्फी सडकमा सवारी चलाउने १५० जना तथा अन्य विभिन्न कसुरमा १ हजार २०७ जना चालक कारबाहीमा परेका हुन्।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक नरेशराज सुवेदी ले ट्राफिक नियम उल्लङ्घन नियन्त्रणका लागि नियमित अनुगमन र कारबाहीलाई निरन्तरता दिइएको बताए।
ट्राफिक प्रहरीले मादक पदार्थ वा लागुपदार्थ सेवन गरी सवारी चलाउनु कानुनविपरीत तथा दण्डनीय कार्य भएकाले चालकप्रति सचेत रहन आग्रह गरेको छ। चालकले मादक पदार्थ सेवन गरेको आशंका लागेमा नजिकको प्रहरी कार्यालय, ट्राफिक कन्ट्रोल रूमको हटलाइन नम्बर १०३ वा प्रहरीको हटलाइन नम्बर १०० मा जानकारी दिन पनि सर्वसाधारणलाई अनुरोध गरिएको छ।


