काठमाडौँ: अर्थमन्त्री डा स्वर्णिम वाग्लेले गत भदौ २३-२४ को विष्फोट अनि फागुन २१ को आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको बताएका छन्। मंगलबार प्रतिनिधिसभा बैठकमा सांसदहरूले उठाएका प्रश्नहरूको जवाफ दिँदै अर्थमन्त्री वाग्लेले परम्पराको नाममा आफूहरू पुरानै ढर्रामा कैद हुन नचाहेको बताए।
‘गत भाद्र २३-२४ को विष्फोट अनि फागुन २१ को आम निर्वाचनपछि मुलुक नयाँ बाटोमा लागेको छ। परम्पराको नाममा हामी पुरानै ढर्रामा कैद हुन भने चाहन्नौँ,’ उनले भने।
उनले संविधानप्रति राष्ट्रिय स्वतन्त्र पार्टी प्रतिवद्ध रहेको बताए। संविधानमा मन नपरेका प्रावधानहरु फेर्न परेपनि संविधानमै लेखिएका धारा २७४ र २७५ टेकेरै गर्ने उनको भनाइ थियो।
यस्तै उनले समता-उन्मुख समाज निर्माणप्रति कटिवद्ध तथा अवसरको समानता र मध्यमवर्गको सुरक्षित विस्तारप्रति आफूहरू समर्पित रहेको बताए।
लोकतान्त्रिक मूल्यमा आधारित, प्रतिस्पर्धात्मक, उत्पादनमुखी र सामाजिक न्यायसहितको उदार अर्थतन्त्रको नीति आफ्नो रहेको उनको भनाइ थियो। ‘राज्यलाई हामी सबै कुरा आफैं गर्ने संरचनाका रूपमा होइन, नागरिक, निजी क्षेत्र र समाजको क्षमता विस्तार गर्ने सक्षम र उत्तरदायी संस्थाका रूपमा हेर्छौँ। सरकारको प्रभावकारी नियमन र सहजीकरणमा निजी क्षेत्रले उडान भर्ने अवधारणाअनुरूप हाम्रो लक्ष्य उपभोगमुखी, आयात–निर्भर र सीमित अवसरमा आधारित अर्थतन्त्रलाई उत्पादन, नवप्रवर्तन, उद्यमशीलताद्वारा सञ्चालित गतिशील अर्थतन्त्रमा रूपान्तरण गर्नु हो,’ उनले भने।
‘राज्य, नीति र सार्वजनिक संस्थालाई कब्जामा लिएर मिलेमतोमा देश दोहन गर्नेलाई अब संरक्षण गरिँदैन’
सांसदहरूले रास्वपाको मुख्य प्राथमिकता के हो भन्दै उनले आफ्नो मुख्य प्राथमिकता सुशासन भएको जानकारी दिए। ई–गभर्नेन्स, डिजिटल डेलिभरी, ‘एक पटक डेटा पेस गर्ने, कार्यसम्पादन सम्झौता’जस्ता प्रबन्धहरू केवल प्रविधिका कुरा नभई राज्य सञ्चालनको संस्कार परिवर्तन गर्ने आधार भएको उनले बताए। खर्च गर्ने हैन डेलिभरी दिने राज्यका रूपमा राज्य निर्माण गर्ने उनको भनाइ छ।


