काठमाडौँ: निजी लगानीमा सञ्चालित रामजानकी हाइड्रोपावर प्रालिले ५८ मेगावाट क्षमताका दुई जलविद्युत् आयोजना बनाउने भएको छ। कम्पनीले ३५.१५ मेगावाटको माथिल्लो अप्सुवा खोला र २३ मेगावाटको अप्सुवाखोला-१ जलविद्युत् आयोजना बनाउन लागेको हो।
दुवै आयोजनाबाट विद्युत् उत्पादन इजाजत (लाइसेन्स)का लागि रामजानकी हाइड्रोपावरले विद्युत् विकास विभागमा दरखास्त दिएको छ। विभागले पनि कम्पनीलाई विद्युत् उत्पादन लाइसेन्स दिन प्रक्रिया अघि बढाएको छ।
माथिल्लो अप्सुवाखोलाबाट २०८५ भदौ र अप्सुवाखोला १ बाट २०८५ माघदेखि बिजुली उत्पादन गर्ने लक्ष्य रहेको विकाकर्ता कम्पनी रामजानकीले जनाएको छ।
दुवै आयोजना संखुवासभा जिल्लाको सिलिचोङ गाउँपालिकामा रहेका छन्। माथिल्लो अप्सुवा आयोजनाले सोही गाउँपालिकाको वडा नम्बर ५ र मकालु गाउँपालिका वडा न १ मा अवस्थित अप्सुवा खोलाको पानीलाई उपयोग गर्दै बिजुली उत्पादनको लक्ष्य रहेको छ।
नदी प्रवाहमा आधारित (रन अफ दि रिभर) आयोजनाबाट वार्षिक २० करोड ४० लाख युनिट बिजुली उत्पादन हुने रामजानकीले गरेको अध्ययनले देखाएको छ।
विकासकर्ता कम्पनी रामजानकीले आयोजनाको सम्भाव्यता अध्ययन प्रतिवेदन तथा वन तथा वातावरण मन्त्रालयमा स्वीकृतीका लागि पेस भएको छ। आयोजनाको डिजाइन बहाव प्रतिसेकेन्ड ९.२५ रहेको छ। आयोजनाको कुल हेड ४६७ मिटर रहनेछ।
आयोजनाको सम्पूर्ण संरचनाहरू सिलिचोङको वडा नम्बर ५ र मकालु गाउँपालिका वडा नम्बर १ भएर बग्ने अप्सुवा खोलाको दायाँ किनारमा रहनेछन्।
अप्सुवा खोलामा बाँध बाँधी खोलाको दायाँ किनारमा निर्माण हुने साइड इन्टेकबाट पानी फर्काइ उक्त पानीलाई आयोजनाका मुख्य संरचनाहरू बालुवा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग सर्ज ट्याक पेनस्टक पाइप हुँदै सही विद्युत् गृहमा लगिने भएको छ।
विद्युत् उत्पादनको लागि अप्सुवा खोलाको पानी फर्काउन स्लोपिङ ग्लासिस छ मिटर अग्लो ३० मिटर लम्बाई भएको डाइभर्सन वेयर बनाइने प्रस्ताव गरिएको छ।
विद्युत् गृहमा जडान गरिने दुईवटा पेल्र्टन टर्बाइनहरूमा पानी खसाली टर्बाइनसँग जोडिएको दुईवटा जेनेरेटरमार्फत ३५.१५ मेगावाट विद्युत् उत्पादन गरिने कम्पनीले जनाएको छ।
उत्पादित बिजुलीलाई विद्युत् गृहको नजिकै बाहिर पट्टि बनाइने स्वीचयार्डमा जडान हुने १३२ केभीका दुई वटा पावर ट्रान्सफरमरमा जोडी २४ किलोमिटर लम्बाइमा बनाइने १३२ केभी लाइनमार्फत् नेपाल विद्युत् प्राधिकरणको सितलपाटी सब–स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने कम्पनीले जनाएको छ।
यस्तै अप्सुवाखोला १ आयोजनाको जडित क्षमता २३ मेगावाट हुनेछ। आयोजनाबाट वार्षिक १२ करोड ८७ लाख युनिट बिजुली उत्पादन हुने अध्यनले देखाएको छ। आयोजनाको डिजाइन डिसचार्ज ७.३० घनमिटर प्रतिसकेण्ड रहेको छ। आयोजनाको कुल हेड २८२ मिटर हुने भएको छ।
आयोजनाको सम्पूर्ण संरचनाहरू संखुवासभाको सिलिचोङ गाउँपालिका वडा नम्बर ५ र मकालु गाउँपालिका वडा नम्बर १ भएर बग्ने अप्सुवा खोलाको दायाँ किनारमा रहनेछन्।
अप्सुवा खोलामा बाँध बाँधी खोलाको दायाँ किनारमा निर्माण हुने साइड इन्टेकवाट पानी फर्काइ उक्त पानीलाई आयोजनाका मुख्य संरचनाहरू वा थिग्राउने पोखरी, हेडरेस सुरुङ्ग पेनस्टक पाइप हुँदै सतही विद्युत् गृहमा लगिने भएको छ।
विद्युत् उत्पादन गर्न खोलाको पानी फर्काउन प्रकारको १६ मिटर लम्बाई भएको डाइभर्सन वेयर बनाइनेछ।
दुई वटा पेल्र्टन टर्बाइनहरूमा पानी खसाली टर्बाइनसँग जोडिएको दुई जेनेरेटरमार्फत २३ मेगावाट विद्युत् उत्पादन गरिनेछ।
विद्युत् गृहमा उत्पादित बिजुलीलाई विद्युत् गृहको नजिकै बनाइने स्वीचयाईमा १३२ केभी दुई वटा पावर ट्रान्सफरमर हुँदै २० किलोमिटर दुरीमा रहेको १३२ केभीको सिंगल सर्किट प्रसारण लाइनमार्फत विद्युत् प्राधिकरणको सितलपाटी सब स्टेशनमा जोडी राष्ट्रिय प्रसारण प्रणालीमा समाहित गरिने भएको छ।


