काठमाडौं। अर्थमन्त्री डा. स्वर्णिम वाग्लले मुलुकको अर्थतन्त्रमा चुनौति बढ्दै गएको बताएका छन्। संघीय संसदमा चालू आर्थिक वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै अर्थमन्त्री वाग्लेले न्यून आर्थिक वृद्धि, सुस्त कर्जा प्रवाह, बढ्दो व्यापार घाटा, कमजोर पुँजीगत खर्च र जलवायु जोखिम अर्थतन्त्रका लागि चुनौति रहेको बताएका छन्।
मुलुकको अर्थतन्त्रमा केही सकारात्मक सङ्केत देखिए पनि संरचनात्मक चुनौती अझै पनि कायम रहेको सरकारको प्रतिवेदनले उल्लेख गरेको छ । नेपालको बाह्य क्षेत्र सुदृढ बन्दै गएको, मुद्रास्फीति नियन्त्रणमा रहेको र विप्रेषणमा उल्लेख्य वृद्धि भएको सर्वेक्षणले देखाएको छ।
उनले विश्वमा देखिएको अनिश्चिता तथा व्यापार अवरोध विश्व अर्थतन्त्र ३.१ प्रतिशतमा खुम्चिने जानकारी दिएका छन्। प्रतिकुल विश्व परिवेशका कारणउपभोक्ता मुद्रास्फीति ६ प्रतिशत माथि रहने जोखिम रहेको उनले बताए।
नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०८२/०८३ मा ३.८५ प्रतिशत रहने प्रारम्भिक अनुमान छ। गत आर्थिक वर्षमा यस्तो वृद्धिदर ४.४३ प्रतिशत रहेको थियो। चालु आर्थिक वर्षमा बागमती र गण्डकी प्रदेश बाहेक सबै प्रदेशको आर्थिक वृद्धिदर राष्ट्रिय औसतभन्दा न्यून रहने अनुमान गरिएको छ।
कुल गार्हस्थ्य उत्पादन (जीडीपी) को संरचनामा कृषि र गैरकृषि क्षेत्रको योगदान क्रमशः २४ र ७६ प्रतिशत रहने अनुमान छ। पछिल्लो दशकको प्रवृत्ति हेर्दा कृषि क्षेत्रको योगदान घट्दै र सेवा क्षेत्रको योगदान बढ्दै गएको छ।
कृषि र गैरकृषि क्षेत्रको वृद्धिदर क्रमशः १.५८ र ४.५४ प्रतिशत रहने अनुमान छ। गत आर्थिक वर्ष यस्तो वृद्धिदर ३.०५ र ४.१२ प्रतिशत थियो।
चालू आर्थिक वर्षको जीडीपी आकार ६६ खर्ब ९ करोड रहने अनुमान छ। यसमा सबैभन्दा बढी बागमती प्रदेशको ३६.७ प्रतिशत र सबैभन्दा कम कर्णाली प्रदेशको ४.२ प्रतिशत योगदान रहने अनुमान छ।
नेपालको अर्थतन्त्रमा उपभोगको हिस्सा उच्च रहेको छ। चालू वर्षको कुल गार्हस्थ्य उत्पादनमा उपभोगको अंश ९०.३ प्रतिशत रहने अनुमान छ। चालु आर्थिक वर्षमा प्रतिव्यक्ति आम्दानी जीडीपीमा १५ सय १३ डलर पुग्ने अनुमान छ ।
चालू आर्थिक वर्षमा अस्तित्वमा रहेका ४५ सार्वजनिक संस्थानमध्ये २७ नाफामा, १६ नोक्सानीमा र दुई बन्द अवस्थामा छन्। अघिल्लो आर्थिक वर्षमा २८ वटा नाफामा, १५ वटा नोक्सानीमा र २ वटा बन्द थिए।
२०८२ असारसम्म सार्वजनिक संस्थानमा सरकारको सेयर लगानी तीन खर्ब ७० अर्ब २५ करोड र ऋण लगानी चार खर्ब २८ अर्ब ३१ करोड गरी कुल सात खर्ब ९८ अर्ब ५६ करोड रहेको छ।
सामाजिक क्षेत्रका परिसूचकमा सकारात्मक सुधार हुँदै गएको छ। निरपेक्ष गरिबी २०.२७ र बहुआयामिक गरिबी १७.४ प्रतिशतमा झरेको छ।
सिँचाइ सुविधा विस्तार हुँदै गएको छ। २०८२ फागुनसम्म कृषियोग्य जमिनको ४४.६ प्रतिशत र सिँचाइयोग्य जमिनको ६२.६ प्रतिशत जमिनमा सिँचाइ सुविधा विस्तार भएकोछ ।
यसैगरी वन क्षेत्रको विस्तार हुँदै गएको छ। नेपालको कुल भू–भागको ४६.०८ प्रतिशत क्षेत्र वनले ढाकेको छ। विश्वको कुल भू–भागको ३२ प्रतिशत अर्थात ९४.१४ अर्ब हेक्टर जमिन वनले ढाकेको छ।
स्वास्थ्य बीमा कार्यक्रम सबै स्थानीय तहमा विस्तार भएको छ। २०८२ फागुनसम्म यस कार्यक्रममा आवद्ध हुने नागरिकको संख्या २१ लाख ४८ हजार भन्दा बढी रहेको छ। औषधि उत्पादनमा नेपालमा हालसम्म २२ हजार ३०५ ब्राण्डका औषधि दर्ता भएका छन। जसमध्ये १३ हजार ५९४ स्वदेशी ब्राण्डका रहेका छन्।
सामाजिक सुरक्षा भत्ता प्राप्त गर्ने लाभग्राहीको सङ्ख्या ३६ लाख ४१ हजार पुगेको छ। यसमध्ये ७० वर्ष माथिका जेष्ठ नागरिक ४६.१४ प्रतिशत रहेका छन्।
योगदानमा आधारित सामाजिक सुरक्षा कोषमा २८ लाख ५० हजार श्रमिक सूचीकृत भएका छन्। यसमध्ये वैदेशिक रोजगारमा जानेको हिस्सा ७५.९ प्रतिशत रहेको छ ।
सन् २०२५ मा दिगो विकास लक्ष्य सूचकांकमा ६८.५८ स्कोर हासिल गरी नेपाल १६७ औं राष्ट्रमध्ये ८५औं स्थानमा रहेको छ। दिगो विकास लक्ष्य प्राप्तिका लागि बाँकी अवधिमा नेपालले वार्षिक औसत सात खर्ब ५५ अर्ब रुपैयाँ थप लगानी गर्नुपर्ने देखिएको छ।
सार्वभौम क्रेडिट रेटिङ्गमा नेपालको अवस्था डबल बी माइनस रहेको छ। यसले लगानीकर्तामा सकारात्मक सन्देश दिएको अर्थमन्त्री वाग्लेले बताए।


