काठमाडौँ: सरकारले राष्ट्रिय जीवन बिमा कम्पनी र विशाल बजार कम्पनीको सेयर सर्वसाधारणमा निष्कासन गर्ने भएको छ। शुक्रबार आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अर्थमन्त्री स्वर्णिम वाग्लेले यस्तो घोषणा गरेका हुन्।
यस्तै जलविद्युत लगानी तथा विकास कम्पनी लिमिटेडलाई उद्देश्य मिल्ने वित्तीय संस्थासँग गाभी पूर्वाधार क्षेत्रको विशिष्टीकृत निकाय बनाउने उनले बताए।
ऋण वा लगानीमा आयोजनामा हुने विनिमय जोखिम न्यून गर्न आगामी आर्थिक वर्षदेखि उपयुक्त प्रिमियममा हेजिङ सेवा दिने व्यवस्था मिलाएको जानकारी उनले दिए।
पहिलो र दोस्रो सार्वभौम क्रेडिट रेटिङबाट प्राप्त नतिजामा सुधार हुने गरी अनुकूल आर्थिक वातावरण सिर्जना गर्ने उनले बताए। नेपाललाई सम्पत्ति शुद्धिकरण सम्बन्धी ग्रे लिस्टबाट यथासक्य छिटो हटाउने उनको भनाइ छ।


