काठमाडौँः सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा संघीय राजधानी काठमाडौंलाई धूलोमुक्त तथा खाल्डाखुल्डीमुक्त बनाउने योजना अघि सारेको छ।
अर्थमन्त्री डा। स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सहरी सौन्दर्यीकरण, सडक सुधार तथा वातावरणीय व्यवस्थापनलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
बजेट वक्तव्यअनुसार काठमाडौं उपत्यकाभित्र सडकको तत्काल मर्मतसम्भार, सफाइ, सडक किनार व्यवस्थापन तथा स्तरोन्नतिका काम अभियानकै रूपमा सञ्चालन गरिनेछ। राजधानीको वातावरणीय अवस्था सुधार गर्दै यातायातलाई सुरक्षित र सहज बनाउने लक्ष्य सरकारको रहेको छ।
यसैगरी, देशभरका सडक सञ्जाललाई सफा, सुरक्षित र गुणस्तरीय बनाउँदै विस्तार तथा सुधार गर्न सरकारले २८ अर्ब ९२ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
सरकारले सडक पूर्वाधार सुधारमार्फत सहरी व्यवस्थापन, यात्रु सुविधा तथा आर्थिक गतिविधि विस्तारमा टेवा पुग्ने अपेक्षा गरेको छ।


