काठमाडौँः सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि सञ्चार तथा सूचना प्रविधि मन्त्रालयलाई ५ अर्ब ९३ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार संघीय संसद्को संयुक्त बैठकमा बजेट प्रस्तुत गर्दै सूचना प्रविधि विस्तार, डिजिटल सेवा प्रवाह तथा सञ्चार पूर्वाधार सुदृढीकरणलाई प्राथमिकतामा राखिएको बताएका हुन्।
विनियोजित बजेट सूचना प्रविधिको पहुँच विस्तार, सञ्चार माध्यमको आधुनिकीकरण तथा ‘डिजिटल नेपाल’ अभियानलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्न खर्च गरिने जनाइएको छ।
सरकारले डिजिटल शासन प्रणालीलाई मजबुत बनाउने, ग्रामीण तथा दुर्गम क्षेत्रमा सूचना पहुँच विस्तार गर्ने र साइबर सुरक्षासम्बन्धी कार्यक्रमलाई समेत प्राथमिकता दिने नीति लिएको जनाएको छ।
यसका साथै सार्वजनिक सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै नागरिकलाई डिजिटल माध्यमबाट सहज सेवा उपलब्ध गराउने लक्ष्य पनि बजेटले अघि सारेको छ।


