काठमाडौँः सरकारले घरजग्गा रोक्का तथा फुकुवा प्रक्रियालाई पूर्ण रूपमा डिजिटल प्रणालीमार्फत सञ्चालन गर्ने घोषणा गरेको छ। अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले शुक्रबार आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट प्रस्तुत गर्दै अब घरजग्गा रोक्का र फुकुवासम्बन्धी सेवा अनलाइनबाटै उपलब्ध गराइने बताएका हुन्।
सरकारका अनुसार नयाँ व्यवस्थाले सेवा प्रवाहलाई छिटो, पारदर्शी र प्रभावकारी बनाउनेछ। साथै, सेवाग्राहीले कार्यालय धाउनुपर्ने झन्झट कम हुने तथा प्रशासनिक ढिलासुस्ती र अनियमितता न्यूनीकरण हुने अपेक्षा गरिएको छ।
नयाँ डिजिटल प्रणालीमार्फत बैंक, वित्तीय संस्था तथा सम्बन्धित सरकारी निकायबीच समन्वय अनलाइन प्लेटफर्ममार्फत गरिनेछ, जसले कागजी प्रक्रिया न्यून गर्दै सेवा प्रवाहलाई थप सहज बनाउने सरकारको विश्वास छ।


