बीबीसी। अमेरिका र इरानले आफूहरूबीच जारी सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको घोषणा गरेका छन्।
पाकिस्तानका प्रधानमन्त्री शहबाज शरिफले शान्ति सम्झौता भएको बताएका छन्। उनका अनुसार लेबननसहित सबै मोर्चामा हुने सैन्य कारबाही अन्त्य गर्ने सहमति भएको छ।
इरानका उपविदेशमन्त्रीले पनि सम्झौताको प्रारूपमा सहमति भएको पुष्टि गरेका छन्।शहबाज शरिफका अनुसार उक्त सम्झौतामा आगामी शुक्रवार स्विट्जरल्यान्डमा औपचारिक हस्ताक्षर हुने छ।
सम्झौतामा समावेश भएका विषयहरूबारे अझै स्पष्ट हुन बाँकी छ। यद्यपि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले सम्झौतामा हस्ताक्षर भएपछि तेलको आपूर्ति पुनः सुरु हुनेू बताएका छन्। उनले स्ट्रेट अफ होर्मुजको प्रयोग स्थायी रूपमा निःशुल्क हुने पनि बताएका छन्।
यदि यो सम्झौता कार्यान्वयनमा आयो भने विश्व बजारमा तेल र प्राकृतिक ग्यासको आपूर्ति पुनः सहज भई ऊर्जा सङ्कटको जोखिम घट्ने तथा विश्व अर्थतन्त्रमा स्थिरता आउने अपेक्षा गरिएको छ।
यद्यपि, सम्झौताका पूर्ण विवरण तत्काल सार्वजनिक गरिएको छैन। युद्ध अन्त्यका लागि सहमति भएको घोषणापछि अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य घटेको छ।सहमतिका समाचारसँगै अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्य करिब ४ प्रतिशतले घटेको विवरण आएका छन्।
कच्चा तेलको भाउ घटेर हाल ८० देखि ८३ डलरहारहारीमा कारोबार भइरहेको आयल प्राइस डटकमले जनाएको छ। ब्रेन्ट क्रुडका कच्चा तेलको प्रतिब्यारेल ८३.८५ डलरका कारोबार भएको छ।
इरानका उपविदेशमन्त्रीले इरानी सरकारी सञ्चार माध्यमसँग बताए अनुसार सम्झौताको प्रारूपलाई अन्तिम रूप दिन कतारको प्रतिनिधिमण्डल आइतवार तेहरान पुगेको थियो।
उनका अनुसार करिब १४ १५ घण्टा लामो छलफलपछि इस्लामाबादमा तयार गरिएको प्रारूप टुङ्गोमा पुगेको थियो।अन्तिम सम्झौताका लागि ६० दिन भित्रमा वार्ता हुने तय भएको उनले बताएका छन्।
इरानी सञ्चार माध्यमहरूले अमेरिकाले इरानमाथि लगाएको सामुद्रिक नाकाबन्दी ३० दिनभित्रमा अन्त्य गरिने सहमति भएको जनाएका छन्।
इरानले होर्मुज जलमार्ग बन्द गरेपछि अमेरिकी सेनाले इरानका बन्दरगाहहरू पनि बन्द गरिरहेको छ। सम्झौतासँगै होर्मुज जलमार्ग पनि खुला हुने अमेरिकी राष्ट्रपति ट्रम्पले बताएका छन्।
अमेरिकी राष्ट्रपतिले न्यूयोर्क टाइम्ससँग कुरा गर्दै होर्मुज जलमार्गमा ूकहिल्यै कुनै शुल्क नलाग्ने गरी इरानसँग सम्झौता गरिने बताएका छन्।
टेलिफोन अन्तर्वार्तामा उनले परमाणु सम्झौता गर्न इरान असफल भए आक्रमण पुनः सुरु हुनसक्ने समेत बताए।
अमेरिका र इजरायल फेब्रुअरी २८ मा इरानमाथि व्यापक हमला सुरु गरेका थिए। जबाफमा इरानले अमेरिकालाई सहयोग गरिरहेका खाडी राष्ट्रहरूमा आक्रमण गर्यो र विश्वभरिका लागि तेल र प्राकृतिक ग्यासको प्रमुख ढुवानी मार्ग होर्मुज जलमार्ग बन्द गरेको थियो।
अमेरिका र इरानबीच गत अप्रिलमा दुई हप्ताका लागि युद्धविराम सहमति भएको थियो। उक्त युद्धविरामलाई दुवै पक्षले निरन्तरता दिएको बताए पनि त्यसयता दुवै पक्षबीच छिटपुट आक्रमण भइरहेका थिए।


