काठमाडौँ: देशका सातै प्रदेशले बजेट धमाधम प्रस्तुत गरिरहेका छन्। बागमती प्रदेश सरकारले आगामी आर्थिक वर्षका लागि ६६ अर्ब ९३ करोड ३३ लाख रुपैयाँ बजेट प्रस्तुत गरेको छ।
प्रदेशका आर्थिक मामिला तथा योजना मन्त्री प्रभात तामाङले सोमबार संसद्मा बजेट प्रस्तुत गरे। आगामी आर्थिक वर्षमा कुल बजेटको दुई तिहाइ हिस्सा विकासका लागि छुट्याएको छ। चालु तर्फ २२ अर्ब ९६ करोड १९ लाख रुपैयाँ र पुँजीगततर्फ ४३ अर्ब ९७ करोड १४ लाख रुपैयाँ (६५.६९ प्रतिशत) विनियोजन गरिएको बताए।
बजेटको स्रोत बजेटको खर्च बेहोर्ने प्रमुख स्रोतहरूमा कर राजस्व ३० अर्ब १५ करोड ६ लाख ६८ हजार, अन्य राजस्व ७ अर्ब ७३ करोड ९९ लाख १२ हजार, संघीय वित्तीय हस्तान्तरण (अनुदान)तर्फ १५ अर्ब ३१ करोड ४८ लाख, चालु आर्थिक वर्षको बचत/विविध प्राप्तितर्फ १२ अर्ब ७६ करोड ७९ लाख ५३ हजार र ऋण लगानी फिर्तातर्फ ९६ करोड राखिएको छ।
आगामी वर्ष ७.५ प्रतिशतको आर्थिक वृद्धिदर हासिल गर्ने लक्ष्य राखिएको छ।
काठमाडौँ उपत्यकामा मेट्रो रेल सञ्चालनको सम्भाव्यता अध्ययनका लागि बजेट विनियोजन गरिएको छ। भीमफेदी–कुलेखानी सुरुङमार्गको सम्भाव्यता अध्ययन गरिने, रणनीतिक महत्त्वका सडकहरूका लागि ७ अर्ब १० करोड विनियोजन गरिएको र प्रदेश राजधानी हेटौँडामा चक्रपथ र साइकल लेन निर्माण गरिने बताइएको छ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस र एमडी अध्ययनका लागि ५१ अर्ब २८ करोड ८८ लाख विनियोजन गरिएको छ। प्रदेशका अस्पतालहरूमा सीटी स्क्यान, एमआरआई र क्याथल्याब सेवा विस्तार गरिने, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता दिँदै स्थानीय तहमा हस्तान्तरण गरिने र शिक्षण सिकाइलाई प्रविधिमैत्री बनाउन ‘स्मार्ट टिचिङ’ को सुरुवात गरिने बताइएको छ।
दूध उत्पादनमा आत्मनिर्भर हुन प्रोत्साहन अनुदानलाई निरन्तरता दिइएको छ। ‘मुख्यमन्त्री विपन्न आवास कार्यक्रम’ अन्तर्गत कम्तीमा १ हजार परिवारका लागि सुरक्षित आवास निर्माण गर्न २० करोड विनियोजन गरिएको छ।
यस्तै जोखिममा परेका गर्भवती र सुत्केरीको निःशुल्क हवाई उद्धारलाई निरन्तरता दिने र भनिएको छ।
युवाहरूलाई प्रोत्साहित गर्न व्यवसाय दर्ता र नवीकरण शुल्कमा ५० प्रतिशत छुट दिने, २० वर्ष पुराना भाडाका सवारी साधन पत्रु गरी अभिलेख खारेज गराएमा जरिवानामा शतप्रतिशत छुट दिने भनिएको छ।


