सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ को नीति कार्यक्रम कार्यान्वयनका लागि रु ३७ अर्ब ७० करोड बजेट विनियोजन गरेको छ। प्रदेशसभाको असार १ गते राति ११ः४५ बजे बसेको बैठकमा सरकारका आर्थिक मामिलामन्त्री विक्रमसिंह धामीले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि बजेट सार्वजनिक गर्नुभएको हो।
सोमबार बेलुका ५ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको भए पनि सत्तारुढ दल नेकपा एमालेले नै बजेटमा असन्तुष्टि जनाउँदा बैठक मध्यान्ह राति सम्म धकेलिएको थियो। बजेट कार्यक्रममा कृर्षि र पूर्वाधार क्षेत्रलाई प्राथमिकता दिइएको छ।
आगामी आवका लागि अनुमान गरिएको खर्च व्यहोर्ने स्रोतमध्ये आन्तरिक राजस्व परिचालनबाट रु एक अर्ब ७२ करोड, सरकारबाट राजस्व बाँडफाट भई प्राप्त हुने अनुमानित रकम रु १० अर्ब २४ करोड ९२ लाख, ६६ हजार अनुमान गरिएको छ।
यस्तै, सङ्घीय रोयल्टीबापत रु सात करोड, नेपाल सरकारबाट प्राप्त हुने वित्तीय समानीकरण अनुदान रु नौ खर्ब छ करोड ३३ लाख, चालु आवको विनियोजनबाट बचत हुने रु नौ अर्ब ६२ करोड, सशर्त अनुदान रु ६ अर्ब तीन करोड ५८ लाख, सङ्घीय समपूरक अनुदान रु ३८ करोड ३८ लाख र विषेश अनुदानबाट रु ५२ करोड ७६ लाख प्राप्त हुने अनुमान गरिएको आर्थिक मामिलामन्त्री धामीले जानकारी दिए।
प्रस्तुत बजेटमा चालु र पुँजीगततर्फ के–कति बजेट विनियोजन गरिएको भन्नेबारे मन्त्री धामीले उल्लेख गरेनन्। प्रतिपक्षी दलका सदस्यहरुको बहिष्कारका बीच सरकारले बैठकमा आगामी आवको बजेट सार्वजनिक गरेको हो।
बैठक प्रारम्भ हुनासाथ प्रतिपक्षी दलका सदस्यहरु आ–आफ्नो स्थानमा उठेर विरोध गरेपछि सभामुख भीमबहादुर भण्डारीले दिएको समयमा बोल्नुभएका प्रदेशसभा सदस्य मानबहादुर धामीले समयमै बजेट पेस गर्न नसकेर सरकारले लाचारीपन देखाएको बताएृ। त्यसपछि सबै प्रतिपक्षी सांसद बैठक बहिष्कार गर्दै बाहिरिएका थिए।
बजेट बाँडफाँटमा सत्तापक्षका प्रदेशसभा सदस्यहरुबीच नै मतऐक्यता हुन नसकेपछि प्रदेशसभा बैठकमा आगामी आवको बजेट पेस गर्न ढिलाइ भएको हो। प्रदेश सरकारको चालु आवमा रु ३३ अर्ब ४७ करोड ६० लाख ४८ हजारको बजेट विनियोजन गरिएको थियो।
कानुनी समयसीमा जोगाउने दबाबबीच बजेट सार्वजनिक गरिएको र यसपटक चालु तथा पुँजीगत खर्चको स्पष्ट वर्गीकरणसमेत प्रस्तुत नगरिएको अवस्था देखिएको छ। बजेटमा समेटिएका धेरै कार्यक्रम अघिल्ला वर्षका योजनाहरूको निरन्तरताका रूपमा रहेका छन्। कृषि, पशुपालन तथा मत्स्य क्षेत्रको उत्पादन वृद्धि, दुग्ध उद्योग स्थापना, किसान प्रोत्साहन कार्यक्रम, सडक तथा झोलुङ्गे पुल निर्माण, शिक्षा क्षेत्रको पूर्वाधार विकास र स्वास्थ्य सेवाको स्तरोन्नतिलाई सरकारले प्राथमिकतामा राखेको जनाएको छ।
दुर्गम जिल्लामा भेडापालन प्रवर्द्धन, नमूना विद्यालय र क्याम्पस स्थापना तथा अस्पतालहरूमा सेवा विस्तारका कार्यक्रमसमेत बजेटमा समावेश गरिएका छन्।
यस वर्षको बजेटमा कर प्रशासनसँग सम्बन्धित केही नयाँ व्यवस्था पनि प्रस्ताव गरिएको छ। लामो समयदेखि सवारी कर नवीकरण नगरेका करदातालाई विशेष छुट दिने प्रावधान ल्याइएको छ भने राजस्व संकलनको दायरा विस्तार गर्ने लक्ष्य पनि राखिएको छ।
योजना छनोट र विस्तृत वार्षिक कार्यक्रम अन्तिम चरणसम्म टुंगोमा नपुगेको अवस्थाले आगामी वर्ष बजेट कार्यान्वयन क्षमतामाथि प्रश्न उठाएको छ।
प्रकाशित: २०८३ असार २ गते मङ्गलबार ११:२०