काठमाडौँः नेपाल राष्ट्र बैंकले व्यक्ति–व्यक्तिबीच सिधै ऋण दिने ‘पियर टु पियर लेन्डिङ’ प्रणालीको अध्ययन गर्ने भएको छ। आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीति सार्वजनिक गर्दै राष्ट्र बैंकले व्यक्तिगत क्रेडिट स्कोरका आधारमा यस्तो प्रणाली सञ्चालन गर्न सकिने सम्भावनाबारे अध्ययन गर्ने जनाएको हो।
यो प्रणाली लागू भएमा बैंक वा वित्तीय संस्थाको माध्यमबिना नै एक व्यक्तिले अर्को व्यक्तिलाई डिजिटल प्लेटफर्ममार्फत ऋण दिन वा लिन सक्नेछन्।
राष्ट्र बैंकका अनुसार ऋण लिन चाहने व्यक्तिको आर्थिक कारोबार, ऋण तिर्ने बानी र वित्तीय अनुशासनका आधारमा क्रेडिट स्कोर तयार गरिनेछ। यही स्कोरका आधारमा ऋण पाउने योग्यता र ब्याजदर निर्धारण गर्न सकिने व्यवस्था अध्ययन गरिनेछ।
यो व्यवस्था लागू भएमा साना कर्जाका लागि बैंक धाउनुपर्ने झन्झट कम हुने, लगानी गर्न चाहने व्यक्तिले प्रत्यक्ष रूपमा ऋण लगानी गर्न सक्ने तथा बैंकिङ पहुँचबाहिर रहेका तर राम्रो वित्तीय इतिहास भएका व्यक्तिहरूले पनि सहज रूपमा ऋण पाउने सम्भावना रहने राष्ट्र बैंकको अपेक्षा छ।
यद्यपि, राष्ट्र बैंकले तत्काल यो प्रणाली लागू नगर्ने स्पष्ट पारेको छ। यसअघि यसको कानुनी, प्राविधिक तथा सुरक्षा पक्षको विस्तृत अध्ययन गरिनेछ। साथै, ऋण असुली, लगानीकर्ताको सुरक्षा र सम्भावित जोखिम व्यवस्थापनसम्बन्धी व्यवस्था तय गरेपछि मात्रै आवश्यक नीति र नियम बनाइने जनाइएको छ।
