काठमाडौं। चालू आर्थिक वर्षको ११ महिनामा विप्रेषण (रेमिट्यान्स) आप्रवाह ३८.२ प्रतिशत बढेको छ। गत जेठसम्म रेमिट्यान्स आप्रवाह २१ खर्ब २० अर्ब ८० करोड रुपैयाँ पुगेको छ। यो हालसम्मकै उच्च हो।
अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह १५.६ प्रतिशत बढेको थियो। गत जेठमा मात्रै विप्रेषण आप्रवाह दुई खर्ब तीन अर्ब ८९ करोड रुपैयाँ प्राप्त भएको नेपाल राष्ट्र बैंकले जनाएको छ।
अघिल्लो वर्षको सोही महिनामा विप्रेषण आप्रवाह एक खर्ब ७६ अर्ब ३२ करोड रुपैयाँ थियो।
समीक्षा अवधिमा अमेरिकी डलरमा विप्रेषण आप्रवाह २९.६ प्रतिशत वृद्धि भई १४ अर्ब ५९ करोड पुगेको छ।
समीक्षा अवधिमा वैदेशिक रोजगारीका लागि अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ) लिने नेपालीको सङ्ख्या तीन लाख ६७ हजार २११ र पुनः श्रम स्वीकृति लिनेको सङ्ख्या तीन ५५ हजार ७३५ रहेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो सङ्ख्या क्रमशः चार लाख ५२ हजार ३२४ र तीन लाख ८ हजार ६७ थियो।
