काठमाडौं। विदेशी विनिमय सञ्चिती बढेर नयाँ रेकर्ड कायम भएको छ। गत जेठसम्म विदेशी विनिमय सञ्चिती ४०.३ प्रतिशत बढेर ३७ खर्ब ५५ अर्ब ६४ करोड रुपैयाँ पुगेको छ।
२०८२ असार मसान्तमा विदेशी विनिमय सञ्चिती २६ खर्ब ७७ अर्ब ६८ करोड रुपैयाँ थियो।
गत जेठमा डलरमा २६.५ प्रतिशत वृद्धि भई २४ अर्ब ६८ करोड पुगेको छ। यस्तो सञ्चिति २०८२ असार मसान्तमा १९ अर्ब ५० करोड डलर थियो।
कुल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८२ असार मसान्तमा २४ खर्ब १४ अर्ब ६४ करोड रुपैयाँ रहेकोमा २०८३ जेठ मसान्तमा ३७.९ प्रतिशत वृद्धि भई ३३ खर्ब ३० अर्ब ७ करोड रुपैयाँ पुगेको छ।
बैंक तथा वित्तीय संस्था (राष्ट्र बैंक बाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति २०८२ असार मसान्तमा दुई खर्ब ६३ अर्ब ४ करोड रुपैयाँ रहेको थियो।
२०८३ जेठमा ६१.८ प्रतिशत वद्धि भई चार खर्ब २५ अर्ब ५७ करोड रुपैयाँ कायम भएको छ। गत जेठ मसान्तको कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको छ।
आर्थिक वर्ष २०८२/०८३ को १० महिनासम्मको आयातलाई आधार मान्दा बैंकिङ क्षेत्रसँग रहेको विदेशी विनिमय सञ्चिति २२.५ महिनाको वस्तु आयात र १९.१ महिनाको वस्तु तथा सेवा आयात धान्न पर्याप्त रहने देखिन्छ।
२०८३ जेठ मसान्तमा विदेशी विनिमय सञ्चितिको कुल गार्हस्थ्य उत्पादन (जीडीपी), कुल आयात र विस्तृत मुद्राप्रदायसँगका अनुपातहरू क्रमशः ६१.५, १५९.५ र ४३.७ प्रतिशत रहेका छन्।
