काठमाडौं। घरजग्गा कारोबारबाट गत असार महिनामा मात्रै ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको छ।
देशभरको कारोबारको विवरण राख्ने भूमि व्यवस्थापन तथा अभिलेख विभागका अनुसार आर्थिक वर्ष २०८२्०८३ मा सबैभन्दा बढी राजस्व संकलन गत असार महिनामा नै भएको हो।
विभागले वर्षभरको राजस्व संकलनको विवरण उपलब्ध गराएको छ। विवरणअनुसार गत वैशाखमा छ अर्ब २६ करोड ३८ लाख २९ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। यो उक्त आर्थिक वर्षको दोस्रो धेरै राजस्व स)ंकलन हो।
विभागका अनुसार २०८२ साउनमा तीन अर्ब २८ करोड ९१ लाख ३८ हजार २४२ बराबर राजस्व उठेको थियो। भदौमा केही घटेर तीन अर्ब १४ करोड सात लाख १६ हजार रुपैयाँ मात्र प्राप्त भएको थियो।
यस्तै, असोज र कात्तिकमा भने न्यून मात्रामा राजस्व प्राप्त भएको थियो। असोजमा दुई अर्ब ७५ करोड ८५ लाख ५७ हजार र कात्तिकमा दुई अर्ब ७४ करोड ५१ लाख ७२ हजार रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो।
गत मङ्सिरमा चार अर्ब ८४ करोड ८१ लाख ५४ हजार, पुसमा पाँच अर्ब १७ करोड ३२ लाख १४ हजार रुपैयाँ राजस्व संकलन भएको थियो। माघमा पाँच अर्ब ९९ लाख २४ हजार र फागुनमा चार अर्ब १४ करोड ९५ लाख ४८ हजार रुपैयाँ घरजग्गा कारोबारबाट प्राप्त भएको थियो।
त्यसैगरी, गत चैतमा छ अर्ब १६ करोड ५७ लाख ५० हजार, वैशाखमा छ अर्ब २६ करोड ३८ लाख २९ हजार र जेठमा पाँच अर्ब २४ करोड ४२ लाख ५१ हजार रुपैयाँ सरकारको खातामा जम्मा भएको थियो।
गत असारमा भने कारोबारमा उल्लेख्य सुधार भएपछि राजस्व संकलनमा पनि वृद्धि भएको थियो। साउन १ गतेदेखि घरजग्गा कारोबारमा लाग्ने पुँजीगत लाभकर बढ्ने व्यवस्था बजेटमा नै भएपछि कारोबारमा वृद्धि भएको अनुमान गरिएको छ।
सोही कारण गत असारमा ११ अर्ब ९४ करोड ८९ लाख ७४ हजार रुपैयाँ राजस्व संकलन भएको विभागले जनाएको छ। कारोनाकाल र गोरखा भूकम्पपछि घरजग्गा कारोबारबाट गत असारमा सबैभन्दा बढी राजस्व संकलन भएको बताइन्छ।
