कमिसन घटाउन र उचित भाडा दर निर्धारण गर्न माग गर्दै राइड सेयरिङ कम्पनी इन्ड्राइभ, पठाउ, याङ्गो लगायत राइड सेयरिङ सँग आबद्ध चालकहरूले प्रदर्शन गरेका छन्।
कमिसन बढी र भाडा दर कम भएको गुनासो गर्दै चालकहरूले इन्ड्राइभको कुपण्डोलस्थित कार्यालयअगाडि प्रदर्शन गरेका हुन्। स्वतन्त्र चालक फाउण्डेसन नेपालको अगुवाइमा चालकहरूले आन्दोलन थालेका हुन्।
प्रदर्शनका क्रममा चालकहरूले ‘भाडा कम, कमिसन बढी अब सहँदैनौँ’, ‘श्रमको मूल्य देऊ, राइडरको जीवन सुरक्षित गर्’, ‘कमिसन घटाऔँ, न्याय बढाऔँ’, ‘हामी चुप लागेर बस्दैनौँ, अन्याय सहेर बस्दैनौँ’ र ‘राइडरको शोषण बन्द गर्’ लगायतका नारा लेखिएका प्लेकार्ड बोकेका थिए।
फाउण्डेसनकी अध्यक्ष रेश्मा बिसुन्केका अनुसार सरकारले नयाँ आर्थिक वर्षदेखि लागू गरेको ५ प्रतिशत मूल्य अभिवृद्धि कर (भ्याट) को भारसमेत चालकहरूले व्यहोर्नुपरेको छ। पुरानै भाडा दरअनुसार कमिसन तिर्नुपर्दा चालकहरू थप मारमा परेको उनको भनाइ छ।
चालकहरू विगत तीन दिनदेखि आन्दोलनमा छन्। दुई दिन ललितपुरमा प्रदर्शन गरेका उनीहरूले आज काठमाडौंको माइतीघर मण्डलामा समेत प्रदर्शन गरेका छन्।
चालकहरूले राइड सेयरिङ सेवामा वैज्ञानिक तथा उचित भाडा दर निर्धारण गर्न, कम्पनीले लिने कमिसन घटाउन र चालकको श्रमको उचित मूल्य सुनिश्चित गर्न माग गरेका छन्।






