काठमाडौँः साताको अन्तिम कारोबार दिन शुक्रबार नेप्से परिसूचक घटेर बन्द भएको छ। आज नेप्से ४.०५ अंकले घटेर २६५०.०९ विन्दुमा झरेको हो।
नेप्सेसँगै कारोबार रकममा पनि गिरावट आएको छ। शुक्रबार १ करोड ३ लाख १३ हजार ९७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ७७ करोड ४३ लाख रुपैयाँबराबरको कारोबार भएको छ। बिहीबार भने ४ अर्ब ६२ करोड २७ लाख ७७ हजार रुपैयाँबराबरको सेयर कारोबार भएको थियो।
शुक्रबारको कारोबारमा आत्मनिर्भर लघुवित्तको सेयर मूल्य सर्वाधिक बढेको छ। कम्पनीको सेयर मूल्य ८.५४ प्रतिशतले बढेरको हो । यता, अपर लोहोरे खोला हाइड्रोपावर कम्पनीको सेयर मूल्य सर्वाधिक घटेको छ। कम्पनीको सेयर मूल्य ६.९३ प्रतिशतले घटेको हो।
कारोबार रकमका आधारमा सोलु हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ। कम्पनीको शुक्रबार ३९ करोड २५ लाख रुपैयाँबराबरको सेयर कारोबार भएको छ।
