काठमाडौँ: पिकअप गाडीको क्षेत्रमा विश्वभर ख्याति कमाएको टोयोटा हाइलक्सको ‘नाइन्थ जेनेरेसन’ मोडल आधिकारिक रूपमा नेपाल भित्रिएको छ। भृकुटीमण्डपमा सञ्चालन भइरहेको नाइमा नेपाल मोबिलिटी एक्स्पोको अवसरमा यो नयाँ संस्करणको बिक्री सुरु गरिएको हो।
नेपालका लागि टोयोटाको आधिकारिक बिक्रेता युनाइटेड ट्रेडर्स सिण्डिकेट (यूटीएस) ले यो बहुप्रतीक्षित पीकअपको बजार मूल्य १ करोड ५५ लाख रुपैयाँ निर्धारण गरेको छ। अन्तर्राष्ट्रिय बजारमा भर्खरै सार्वजनिक भएको यो मोडल केही समयअघि मात्रै भारतीय बजारमा प्रवेश गरेको थियो।
नयाँ हाइलक्स अझ बढी शक्तिशाली र आकर्षक लुक्समा देखिएको छ। कम्पनीले यसको डिजाइनमा ल्याण्ड क्रुजरको झल्को दिने गरी ‘टफ एण्ड अजाएल’ अवधारणा प्रयोग गरेको छ। गाडीको बाहिरी बनावटलाई मस्कुलर बनाइनुका साथै भित्री भाग (इन्टेरियर) लाई समेत अझ बढी विलासी र आधुनिक फिचर्सले सुसज्जित पारिएको छ।
नयाँ हाइलक्समा २.८ लिटरको डिजेल इन्जिन जडान गरिएको छ। यस मोडलमा ४८ भोल्टको हाइब्रिड प्रविधि समेत उपलब्ध हुन सक्ने बताइएको छ, जसले प्रदर्शनलाई अझ प्रभावकारी बनाउँछ।


